चितवन । डिभिजन वन कार्यालय चितवनले वन्यजन्तु वारपार गर्ने वरण्डाभार क्षेत्रमा सरसफाई कार्यक्रमलाई तीव्र बनाएको छ । स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा विशाला चोक देखि कालिका नगरपालिका पुग्ने सडक आसपासका क्षेत्रमा थुपारिएका फोहोर सरसफाई गरिएको सहायक वन अधिकृत वालकृष्ण खनालले बताउनुभयो ।
विशेषगरी प्लाष्टिक फोहोर सरसफाई गरी त्यसको व्यवस्थापन क्याम्पियन गरिरहेको खनालको भनाई छ । राजमार्ग आसपासका प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्ने कार्यक्रम वाग्मती प्रदेश सरकारले उपलब्ध गराएको र पाँचौ दिनसम्मको कार्यक्रम सम्पन्न भइसकेको खनालले बताउनुभयो ।
पहिलो दिन विशाल चोक देखि बीरेन्द्र क्याम्पस चोकसम्म, त्यसपछि भोजाडदेखि खगेरी खेला पुलसम्म नियमित सरसफाई भइरहेको छ । यो सडकखण्डको आसपास अत्यधिक फोहोर भएकाले अभियान अहिले यतै केन्द्रीत छ । खनालले भन्नुभयो,“बरण्डाभार क्षेत्र भएकाले वन्यजन्तु वारपार गर्ने मुख्य मार्ग हो । वसोवास गर्ने र चरिचरणको क्षेत्र समेत भएकाले यहाँ सरसफाई हुन आवश्यक छ। तर खोलामा पनि फोहोर नै छ । सडकमा पनि यसको आसपास र वनमा समेत फोहोर फालिएको देखिन्छ ।”
वन्यजन्तु हिँड्ने महत्वपूर्ण मार्ग त हो नै भरतपुर कालिका जोड्ने मुख्य सडक पनि हो । तर यो सडक आसापास अहिले फोहोर थुपार्ने डम्पिङमा परिणत भएको छ । जैविक अजैविक सवैखालको फोहोर फालिएको छ । यसले वन र वनस्पति, वनको पारिस्थितिकीय प्रणालीमा समस्या पर्ने र अजैविक फोहोर खाँदा वन्यजन्तु विरामी पर्ने र मृत्यु समेत हुने जोखिम धेरै रहेकाले सरसफाई गरिएको खनालको भनाई छ ।
सहायक वन अधिकृत शान्ति शर्माले बाटो हिँड्ने बटुवा देखि सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएपनि फोहोर फाल्ने काम नरोकिएको बताउनुभयो ।
अहिले १० दिन सरसफाई गर्ने अभियान जारी रहेको र खगेरी पुल नजिक सडक आसपासमा ठूलो मात्रामा अस्पतालजन्य फोहोर यत्रतत्र छरिएको भेटिएको उहाँको भनाई छ । खाल्डो खनेर पुर्नुपर्ने अस्पतालका सुई, औषधि, सीसाजन्य बस्तुहरु समेत भेटिनु मानिसहरुको गम्भीर लापार्वाही भएको शर्माले बताउनुभयो । १० दिनको क्याम्पियनले मात्रै नहुने र मानिस आफै सचेत हुँदै स्थानीय तहले समेत फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानमा योजना बनाई कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
सूचना अधिकारी समेत रहनुभएका वालकृष्ण खनालका अनुसार गतवर्ष पनि वडाअध्यक्षलाई रोहवर राखेर अव फोहोर नफाल्न भनिएको र त्यसको प्रभाव केही समय राम्रो भेटिएको थियो तर अहिले जस्ताको त्यस्तै वनेको छ ।
सरसफाइमा डिभिजन वन कार्यालय चितवनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, वन हेरालु,वनदस्ता, आमासमूह, टोलसुधार समितिका पदाधिकारी, अभियानकर्मीहरुको सहभागीतामा नियमित सरसफाई जारी छ । संकलित फोहोर व्यवस्थापनमा भरतुर महानगरले ट्याक्टर सहयोग गरेको छ।