गैँडाकोट । आफ्नै वडामा अस्पतालको सेवा ल्याउने प्रतिवद्धता सहित नवलपुरको गैँडाकोट नगरपालिका ५ को वडा अध्यक्षमा पुनः नवराज कडेँलले दाबी गर्नुभएको छ ।
नेकपा एमालेले गैँडाकोट ५ को वडा अध्यक्षमा पुनः कडेँललाई दोहोर्याउने निर्णय गरिसकेको छ । काँग्रेसको गढ मानिने वडामा ९१८ मत सहित २०७४ को निर्वाचनमा विजयी कडेँललाई पुनः सोही वडामा दोहोर्याउने पार्टीले निर्णय गरेको हो ।
एमाले पार्टीबाट उम्मेदवार रहेपनि कडेँललाई सवै पार्टीका नेता कार्यकर्ताले राम्रो व्यक्ति र विकासप्रेमी युवा नेताको रुपमा लिने गर्दछन् । आफूले भनेका कुरा पूरा गर्ने युवा नेता कडेँलले आफ्नो कार्यकालमा महत्वपूर्ण कार्य पूरा भएपनि अन्य अति आवश्यक जनमैत्री सेवा थप्ने योजना बाँकी रहेकाले पनि पुनः दोहोरिन चाहेको बताउनुभयो ।
घटनाचक्रसँग बोल्दै उहाँले अस्पतालको सेवा नै वडामा ल्याउने आफ्नो पहिलो प्रतिवद्धता रहेको भन्दै अस्पतालको सेवासँगै बीमामा नागरिकले पाएको सास्तीलाई अन्त्य गरी आफ्नै वडाबाट सो सेवा समेत दिने योजना रहेको बताउनुभयो । कडेँलले भन्नुभयो,“मेरो वार्डका नागरिकले संघीयता आउँदापनि स्वास्थ्य उपचारमा दःुख पाउनुहुन्न भन्ने मेरो मान्यता हो । सुविधासम्पन्न स्वास्थ्य भवन बनाइसकेका छौँ । अव अस्पतालको सेवा र बीमाको सुविधा यहीबाट सुरु गर्न चाहान्छु । त्यसका लागि पुनः जनताले मलाई निर्वाचित गराउनुपर्छ ।”
पाँच वर्षको अनुभवले दोहोरिने कार्यकालमा धेरै विकास निर्माणका कार्यदेखि दैनिक सेवाप्रवाहमा छिटो छरितो गराउन आफू सफल हुने उहाँको विश्वास छ ।
कहाँ के समस्या छ र कस्तो सेवाप्रवाह जनताले खोजेका हुन्छन् भन्ने आफूलाई जानकारी रहेको कडेँलको भनाई छ । अव दोहोरिँदा स–साना समस्यामा अल्झिरहनु नपर्ने र वडाअध्यक्षको काम, कर्तव्य अधिकार समेत थाहा भएकाले कानुनी झमेला समेत नरहने कडेँलले बताउनुभयो । नयाँ व्यक्ति आउँदा आफ्नो काम,कर्तव्य अधिकारी बुझ्नै समय लाग्ने र सेवाप्रवाहमा ढिलाई हुने उहाँको अनुमान छ ।
आफ्नो नेतृत्वको यो अवधिमा ६ किलोमिटर सडक कालोपत्रे, ११ किलामिटर रिपिच, अधिकाँश सडकमा मोजाइक टाइल विच्छाएर सडक पूर्वाधारको विकास गरेको बताउँदै विद्युतीकरणको कामले समेत लगभग पूर्णता पाएको कडेँलको भनाई छ ।
दुई सय बढी विद्युतीय पोल, पाँच वटा ट्रान्सफर्मर जडान, सुविधासम्पन्न स्वाथ्य चौकी भवन निर्माण, नारायणी नदीको तटवन्धन, टोल विकास संस्थाको भवन निर्माणमा सहयोग, वडा सरसफाइ देखि हरियाली वातावरणको सडक निर्माण, सीपमूलक व्यवसायिक तालिम आदिमा उल्लेखनीय प्रगति भएको र नमुना विद्यालयको रुपमा जनक मावि अव संचालनको प्रकृयामा रहेको बताउनुभयो ।
आगामी समयमा कालोपत्रे हुनबाँकी सडकहरुमा पिच गर्ने, बाटो नपुगेका ठाउँमा नयाँ ट्याक खोल्ने, हरियाली वडा बनाउन विशेष योजना ल्याउने, बेरोजगार वडावासीलाई उनीहरुको आवश्यकता र क्षमता अनुसार सीपमूलक तालिम ल्याउने,शिक्षा,स्वास्थ्यमा सहज पहुँच बढाउने,नारायणी नदीमा तटबन्धनलाई निरन्तरता दिने लगायतका योजना रहेको र चाँडै घोषणापत्र सहित जनताको घरदैलोमा पुग्ने कडेँलले बताउनुभयो ।



