चितवन । चितवनमा टाइफाइड रोग बिरुद्धको खोप अभियान जारी रहेको छ । हालसम्म ९७ हजार ७ सय ४२ बालबालिकाले यो खोप लगाइसकेका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको हो। यही चैत २५ गते देखि सुरु भएको खोप अभियानमा सो संख्यामा बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिलो दिन ३४ हजार ६ सय ४७ जना, दोस्रो दिन २८ हजार १ सय जना, तेस्रो दिन ३० हजार ३ सय ८३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वासथ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उनका अनुसार पछिल्लो पटक जिल्लाका ७० भन्दा बढी ठाउँबाट खोप लगाइदैछ । इच्छाकामना गाउँपालिकामा ३० गतेसम्म, भरतपुर महानगरमा बैशाख ४ गतेसम्म र अन्य स्थानीय तहमा बैशाख २ गतेसम्म खोप लगाइदैछ ।
ढकालका अनुसार भरतपुर महानगरमा ४० हजार १३ जना, खैरहनीमा १४ हजार २ सय ६३ जना, माडीमा ८ हजार ६१ जनाले खोप लगाइसकेका छन् । यस्तै रत्ननगरमा १४ हजार ७२ जना, राप्तीमा ८ हजार ३ सय ९३ जना, कालिकामा ८ हजार ३ सय ७ जना, इच्छाकामनामा ४ हजार ६ सय ३३ जनाले खोप लगाएका छन् ।
ढकालले सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गरेर समयमै खोप लगाउन अनुरोध गर्नुभएको छ । प्रमाणीत र विश्वसनीय रहेकाले खोपमा आशंका नगर्न आग्रह गर्नुभयो । खोप लगाउँदैनौँ भन्ने मानिस भने नपाएको बताउँदै ढकालले चितवनले लक्ष्य हासिल गर्ने जानकारी दिनुभयो ।