चितवन – राष्ट्रिय महिला लिगमा धनगढीले नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । आज (मंगलबार) भएको पहिलो खेलमा धनगढीले बिभागिय टोली पुलिसलाई ३-२ ले पाखा लगाएको हो । यससँगै धनगढीले लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ ।
धनगढीको जितमा कप्तान चन्द्रा भण्डारीले दुई र बिर्सना चौधरीले एक गोल गरे । पुलिसकी रेखा पौडेलले दुई गोल फर्काईन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । पहिलो हाफमा प्राप्त अवसर सदुपयोग गर्न नसकेको पुलिसले दोस्रो हाफमा ३ गोल खायो ।
५५ औं मिनेटमा धनगढीकी कप्तान चन्द्राले सुन्दर गोल गरिन् । मैदानको मध्यभागबाट पाएको बलमा चन्द्राले पुलिसको डिफेन्स र गोलकिपर उषा नाथलाई बिट गर्दै सुन्दर गोल गरिन् । उनले एकल प्रयासमा जारी लिगकै उत्कृष्ट मध्यको गोल गरिन् ।
६३ औं चन्द्राको प्रहार पोष्टको साइडबारमा लागेर फर्किएपछि धनगढी दोहोरो अग्रता लिनबाट चुक्यो । लगत्तै ६५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाईन् ।
७३ औं मिनेटमा पुलिसकी रेखाले गोल फर्काईन् । ८२ औं मिनेटमा बिर्सनाले गोल गर्दै फेरि धनगढीलाई ३-१ को अग्रता दिलाईन् । ८८ औं मिनेटमा रेखाले गोल गरेर धनगढीको अग्रता छोट्याए पनि हार टार्न सकिनन् । धनगढीकी सरस्वती रोकाया प्लेयर अफ दि म्याच भईन् ।
यो जितपछि धनगढीको ७ खेलबाट १२ अंक भएको छ । धनगढी तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ ।
यस्तै आजको आजको दोस्रो खेलमा आर्मीले चन्द्रपुरविरुद्ध सहज जित हात पारेको छ । आर्मीले चन्द्रपुरलाई ५-० ले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापा मगरले २ तथा अमिशा कार्की, बिमला चौधरी र दिपा शाहीले एक-एक गोल गरे ।
खेलको छैटौं मिनेटमा नै शर्मिलाको गोलमा आर्मीले अग्रता लियो । ४२ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले दोहोरो अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा अमिशाले आर्मीका लागि तेस्रो गोल गरिन् ।
५५ औं मिनेटमा बिमला चौधरीले गोल गरेपछि आर्मीले ४-० को अग्रता लियो । ६० औं मिनेटमा दिपा शाहीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । आर्मीकी दिपा शाही प्लेयर अफ दि म्याच भईन् ।
यो जितपछि आर्मी ७ खेलबाट १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक ४ अंकका साथ तालिकाको छैटौं स्थानमा यथावत छ ।
लिगमा बुधबार पहिलो चरणको अन्तिम दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १:१५ बजे वाकिङ र ललितपुरबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४:१५ बजे विराटनगर र सशस्त्र प्रहरी भिड्नेछन् ।