चितवन । देश परिवर्तन र जनतालाई लोकतन्त्र गणतन्त्रको अधिकार प्राप्तीका लागि भएको जनआन्दोलन २०६२/०६३ का घाइते बुद्धिकान्त न्यौपानेले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको उपमेयरमा दाबी प्रस्तुत गर्नुभएको छ ।
उहाँले नेपाली काँग्रेस चितवन भरतपुर महानगर समितिले आकांक्षिहरुलाई नाम दर्ता गर्न दिएको समयभित्र आफूलाई उपमेयरको टिकटका लागि आवेदन दर्ता गराउनुभएको हो ।
हाल काँग्रेस भरतपुर महानगर समितिको उप–सभापति न्यौपाने स्कुल कलेजदेखिनै नेपाल विद्यार्थी संघको राजनीति गर्दै काँग्रेसमा सक्रिय हुनुभएको हो । विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएका न्यौपानेको परिवारनै काँग्रेसका लागि जीवन अर्पण गरेको परिवारमा पर्दछ । न्यौपाने आफै २०६२/२०६३ को आन्दोलनमा घाइते हुनुभयो भने २०३७ सालमा वीपि कोइराला आउँदा पेट्रोल हालिदिएको निहुँमा उहाँको हजुरआमालाई पञ्चेहरुले लखेट्दा ज्याननै गएको थियो । तर पनि त्यो पीडाले काँग्रेस राजनीतिबाट विचलित नभएको न्यौपाने परिवारको काँग्रेसमा ठूलो योगदान रहेको उहाँको दाबी छ ।
उहाँको बुवाले पनि काँग्रेसलाइ निरन्तर सहयोग गर्दै आइरहनुभएको छ भने उहाँको काका टिकाराम न्यौपाने पूर्व पार्टी सभापति, बुवापनि काँग्रेसकै लागि निष्ठाको राजनीति गर्नुभएको र परिवारनै काँग्रेस राजनीति पृष्ठभूमिमा रहेकाले योगदानलाई हेरेर पनि पार्टीले यो पटक उपमेयरमा अवसर दिनेमा उहाँको विश्वास छ ।
काँग्रेसकै लागि निष्ठाको राजनीति गर्दै आइरहेको बताउँदै न्यौपानेले महानगरमा उत्कृष्ट कार्य गरेर देखाउने दाबी गर्नुभयो । “म बाट भ्रष्टचार पनि हुँदैन । इतिहासमा राम्रो काम गर्छु भनेर उप–मेयरमा उमेदवारी दिएको हो । पार्टीको सिर झुकाउने कुनै काम पनि हुँदैन । उप–मेयर हुँदा पाउने सेवासुविधा समेत नलिने घोषणा सहित उपमेयरमा दाबी गरेको छु ।”
काँग्रेसमा निरन्तर निष्ठाको राजनीति गरेकोले पनि उपमेयरमा टिकट पाउने आसा उहाँमा छ । १३ औँ महाविधेशनबाट भरतपुर महानगरपालिकाको सदस्यमा निर्वाचित न्यौपानेले जिल्ला प्रशिक्षण विभागको सदस्य भएर जिम्मेवारी निभाइसक्नुभएको छ । अहिले १४औँ महाविधेशनबाट महानगरको उप–सभापतिमा उहाँ निर्वाचित हुनुभएको थियो ।
वडा तहदेखिनै पार्टीमा रहेर कार्य गरेकाले महानगरमा गर्नुपर्ने धेरै काम वाँकी रहेको उहाँको भनाई छ । महानगरको समग्र विकास, सुशासन,भ्रष्टचारमुक्त महानगर कायम गर्नुपर्ने र त्यसका लागि आफूमा क्षमता र योग्यता रहेको उहाँको भनाई छ ।