चितवन । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहले काँग्रेसबाट महानगरको मेयर पदमा आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ । दुइ दिन आकांक्षिहरुको नाम दर्ता गर्न आह्वान गरेअनुसार नेपाली काँग्रेस जिल्ला कार्यालय कमलनगरमा गएर उहाँले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।
पाँच वर्ष उप–प्रमुखमा रहेर आफ्नो जिम्मेवारी सतप्रतिशत पूरा गरेको भन्दै त्यो अनुभव सहित अव मेयरमा रही जनताको सेवामा लाग्न आफूले नाम दर्ता गराएको बताउनुभयो ।
२०७४ मा निर्वाचित भएर आएपछि धेरै चुनौतिका बाबजुत पनि जनताको काम गर्ने अवसर मिलेको उहाँको भनाई छ ।
२०७४ को जनमतले आफूलाई संघीयताको अभ्यास र जनतालाई पुर्याउनुपर्ने सेवा तथा न्यायको क्षेत्रमा स्थानीय सरकार संचालन ऐनले उपमेयरलाई दिएको जिम्मेवारीमा स्व–मूल्याङ्कन देखि हरेक कुरामा सतप्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छु, उहाँले भन्नुभयो,“म यसमा गर्व गर्न चाहान्छु र उपलब्धिमा गर्व गर्न चाहान्छु ।”
अव उप–मेयरको पाँचवर्षे अनुभवलाइ मेयर पदमा रहेर पुनःजनताको सेवामा समर्पण गर्न तयार रहेको भन्दै पार्टीले आफ्नो भावनालाई बुझिदिने उहाँको भनाई छ । उप–मेयर शाहले भन्नुभयो,“२०७४ मा जनताले उप–मेयरमा जिताएपछि संविधानले दिएको जिम्मेवारी सतप्रतिशत पूरा गरेका छु । अव यो अनुभवसहित मेयरमा रहेर महानगरको समग्र विकासमा लाग्न चाहान्छु । पार्टीले मेरो भावनालाई बुझ्नेछ ।”मेयरमा टिकट पाएर काम गर्ने अवसर पाउनुपर्नेमा उहाँको जोड छ ।
संविधानमा मेयर उप–मेयरमा एक जना महिला भनेकाले सक्षम महिलाले पनि मेयरमा अवसर पाए काम गर्न सक्छन् भन्ने बुझिदिन पार्टी नेतृत्वलाई उहाँको आग्रह छ । सक्षम महिला र उप–मेयर चलाइसक्नुभएको उहाँले महिलालाई मेयर पदको टिकट दिनुपर्ने र यसले विजयी हुने सम्भावना समेत धेरै हुने दाबी गर्नुभयो ।
गठवन्धनमै जाने हो भनेपनि अघिल्लो चुनावमा माओवादीले पालो पाएर मेयरमा काँग्रेस जिताएको भन्दै यो पटक काँग्रेसले पाउनुपर्ने बताउँदै भन्नुभयो,“अघिल्लो पटक हामीले माओवादीको मेयरलाई जितायौँ । स्वभाविक रुपमा अव पालो काँग्रेसको हो यसमा कुनै अन्योल हुनुहुँदैन । पार्टीले पनि सक्षम, अनुभवि र जनतासँग चिरपरिचित व्यक्तिलाई टिकट दिनुपर्छ अझ बढी महिलालाई प्राथमिकतामा राख्नुपर्छ ।”
२०७४ सालको स्थानीय चुनावमा सर्वाधिक ४७ हजार १९७ मत सहित उप–मेयरमा उहाँ निर्वाचित हुनुभएको थियो । मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको थियो । मेयरमा पराजित नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो ।
अहिले भरतपुर महानगरपालिकामा मात्रै १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् ।जसमा ८८ हजार ८८४ जना पुरुष, ९६ हजार ८६७ महिला र १ जना अन्य छन् ।



