चितवन । गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषदले चितवनको भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई आज १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क वितरण गरेको हो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसीले हस्तान्तरण भएका १० थानमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराउने जानकारी दिनुभयो । त्यस्तै मास्क समेत निरन्तर ड्युटीमा खटिनुपर्ने प्रहरी, ट्राफिक प्रहरी, महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने जानकारी दिनुभयो । सवै गरेर १५ लाख बरावरको सामाग्री सहयोग गरेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसीना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गर्नुभएको भन्दै धन्यवाद दिनुभयो । साथै सामाग्री सहयोग हस्तान्तरणसम्म समन्वय गरेको भन्दै चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य कायम राख्न उहाँको आग्रह थियो ।
कार्यक्रमका अध्यक्ष एवम् गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । नेपाल बाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताउनुभयो । भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रसंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताउनुभयो ।
कोभिडको समयमा हङकङबाट मात्रै ४ करोड बढीको सहयोग भएको र त्यसमध्ये अहिलेको सहयोग भरतपुरलाई गरिएको उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।



