ऋषिङ,तनहुँ । स्थानीय तहको निर्वाचन २०७९ आउन करिव एक महिना बाँकी हुँदा आफूलाई सक्षम र विकासका योजना बनाइ बजेट न्यायोचिन बाँडफाँडगरी जनताको आवश्यकता पूरा गर्नसक्ने योजना बनाएर व्यक्तिहरुले आफ्नो दावी प्रस्तुत गरिरहनुभएको छ । यहीक्रममा तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्षमा शिक्षित एवम् समाजसेवामा अग्रणी व्यक्तित्व इन्द्र बहादुर आलेले आफ्नो दाबी पेश गर्नुभएको छ ।
स्थानीय तहका लागि राजनीतिक भन्दा विकासका मुद्दाले प्राथमिकता पाउनुपर्छ भन्ने आलेले ऋषिङ गाउँपालिकाका जनता उपचार अभावमा मृत्युवरण गर्न हुन्न भन्ने दरिलो अठोटका साथ नेपाल रेडक्रस सोसाइटी स्थापना गरी एम्बुलेन्स सेवा सुरु गराउने मुख्य नेतृत्वकर्ता हुनुहुन्छ ।
ऋषिङ्ग–७, गैह्राथोक, तनहुँ (साविक कोटदरबार गा. वि. स.–६) मा कोटदरबारको पूर्व सभापति बुबा नर बहादुर आले र आमा शनिसरा आलेको कोखबाट जन्मिनुभएको हो । मगर परिवारमा जन्मिएपनि आलेले अंग्रेजी/ एलएल. बी. मा एम. ए., (बी. ए., एकवर्षे बी. एड.), एम. ए. समाजशास्त्र समेत अध्ययन गरेर आफूलाई शैक्षिक व्यक्तित्वमा प्रमाणीत गरिसक्नुभएको छ ।
शिक्षानै हरेक सफलताको खुड्कीलो हो भन्ने बुझ्नुभएको आलेले यही सिकाई र अनुभवलाई गाउँपालिकाको अध्यक्षमा रहेर यहाँको जनताको सर्वपक्षिय विकासमा कामगर्ने लक्ष्य लिएर गाउँपालिकाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुभएको हो । जनताका स–साना आवश्यकतालाई समेत सम्वोधन गर्नुपर्छ भनेर आवाज उठाउने आले एम. ए. (अंग्रेजी) र एलएल. बी. गरी करिब २५ वर्ष शिक्षण र हाल शिक्षण र वकालत पेशामा संलग्न हुनुहुन्छ । २०६२ देखि हालसम्म दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस, पराशर कलेज र सत्यवती मा. वि. मा अध्यापनरत हुनुहुन्छ ।
शिक्षण, वकालत पेशामा रहनुभएका उहाँ हालको पेशासँगै २०४७ देखि नेपाली काँग्रेसको राजनीतिमा संलग्न हुनुहुन्छ । नेपाल विद्यार्थी संघ, शिव मा. वि. (हालको शिवसरस्वती मा. वि.)मा कक्षा ८ देखि १० सम्म एकाई अध्यक्ष भएर चारतारे झण्डाको महत्व र काँग्रेसको भातृसंस्था नेविसंघले विद्यार्थीको हक,हित र अधिकारसँगै देशको परिवर्तनमा खेलेको भूमिका गाउँका विद्यार्थी एवम् समाजलाई अवगत गराउन सक्रिय रहनुभयो ।
२०५१ मा नेपाली काँग्रेसको सदस्यता लिएर थप सक्रिय हुनुभएको आलेले क्याम्पस र विश्वविद्यालयमा अध्ययनको समय पदमा नबसेपनि सांगठनिक गतिविधिमा क्रियाशील रहनुभयो ।
२०४८ यताका हरेक आन्दोलन र निर्वाचनमा पार्टीको निर्देशन अनुसार शहर भन्दा बढी गाउँमै केन्द्रीत भएर सक्रिय सहभागी हुँदै काँग्रेसको नीति,सिद्धान्त, कार्यक्रमबारे जानकारी दिँदै आउनुभयो ।
२०६५ देखि २०७७ सम्म नेपाली काँग्रेसको भातृसंगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सभापति, २०६७ देखि निरन्तर क्षेत्रीय प्रतिनिधि, २०६७ – २०७७ मा भातृसंगठनको सभापतिको हैसियतले नेपाली काँग्रेस तनहुँको आमन्त्रित जिल्ला सदस्य, प्रशिक्षण विभाग सदस्य, २०७२ को १३ औं अधिवेशनले क्षेत्रीय सचिव, २०७८ को १४औं अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन हुन सफल जिल्लाको एकमात्र सभापतिले पनि आलेको लोकप्रियताको थप प्रमाण हो ।
स्थानीय तहको निर्वाचनमा लोकप्रिय र जनतासँग नजिक भएको व्यत्तिलेनै मत बढी पाउने भएकाले आलेको दाबी बलियो भएको स्थानीय बताउँछन् ।
ऋषिङबाट राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व आलेलेको सामाजिक सेवाको सक्रियता अझ बढी छ । कोटदरबार विद्युत उपभोक्ता समितिको अध्यक्ष भएर साविक कोटदरबार गा.वि.स. मा विद्युतीकरण गराउन उहाँको महत्वपूर्ण भूमिका रह्यो । वर्षौँदेखि टुकीका भरमा वस्न वाध्य जनताले उज्यालो पाएको उहाँकै नेतृत्वमा हो । स्थानीय तहको सरकार २०७४ नआउँदा २०६५ देखि उहाँले त्यसको नेतृत्व गरेर विद्युतीकरणको कार्यलाई सफल पार्नुभयो ।
मनविय सेवा भन्दा ठूलो विश्वमा केही छैन भन्ने भावलाई आत्मसाथ गर्ने नेपाल रेडक्रस सोसाइटीजस्तो गर्विलो संस्थालाई कोटदरबार उप–शाखा गाउँमा स्थापना गराउन सफल हुनुभयो । उहाँ २०७३ मा यसैको संस्थापक सभापतिमा रहेर अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ ।
अझैपनि ऋषिङ गाउँपालिकाभर सुविधासम्पन्न अस्पताल छैन । कयौँ आमाहरु सुत्केरी हुनेसमय जटिल समस्यामा परेको उहाँले आँखा अगाडि देखिरहनुभएको थियो । कुनै दुर्घटना भयो वा जटिल विरामी मात्रै होइन मध्यम विरामी भएपनि उपचार गर्न सदरमुकाम वा पोखरा जानुपर्ने वाध्यता थियो अहिले पनि छ । यस्तो समय सवारी साधन पाउन त कठिन छँदै छ एम्बुलेन्स त परको कुरा थियो । तर आलेले ऋषिङ्ग क्षेत्रमा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनको नेतृत्व गर्नुभयो । करिब २८ लाख संकलन गरी २०७५ भाद्र १९ देखि ऋषिङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो । अहिले पनि यो सेवा जारी हुँदा स्थानीयले सहजै स्वास्थ्य सेवा पाइरहेका छन् ।
विश्वसमाजलाई आक्रान्त बनाएको कोभिड–१९ को महामारीमा ऋषिङ्गका कोभिड संक्रमितहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिएर कान्छो उपशाखा भएपनि लगातार दुईपटक जिल्लाको उत्कृष्ट उपशाखाको रुपमा रेडक्रसलाई स्थापित गराउन सफल हुनुभयो ।
रेडक्रस भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष भएर अहिले भवन निर्माण कार्य जारी छ । आले शिवसरस्वती मा. वि.मा प्राविधिक शिक्षा सञ्चालन समितिको सल्लाहकारमा रहेर गाउँका लागि आवश्यक जनशक्ति उत्पादनमा सल्लाह दिने, शिक्षाको मोडालिटीवारे छलफल चलाउने, सवै जनताका छोराछोरीले सहजै प्राविधिक शिक्षा पाउने विधिहरुवारे खोजी गरेर सल्लाह दिनेमा उहाँको अहम् भूमिका छ ।
मानवताको सेवामात्रै होइन मानव अधिकारको पनि संरक्षण हुनुपर्नेमा जोड दिने आले मानव अधिकार समिति , नेपाल बार एसोसिएशन, तनहुँ को सदस्य, मिगुर मासिक (नेपाल मगर संघ, तनहुँद्वारा प्रकाशित) र नागरिक जागरण साप्ताहिक, दमौलीको सम्पादक समेत भएर आफूलाई बहूक्षेत्रमा सक्षम सावित गरिसक्नुभएको छ ।
मगर ढूटओ आहान गोमोक (मगरभाषाको कथा संग्रह), मगर ढूटओ रिल्हिङ गोमोक (मगरभाषाको कविता संग्रह), मगर ढूटाङ कुराकानी र आदिवासी मगरमा प्रचलित रोदी र कौराहा लगायतका पुस्तक सम्पादन गरिसक्नुभएका आलेले नेपाली र अंग्रेजी भाषामा लेखहरू प्रकाशित गर्नुभएको छ ।
त्यस्तै आले आदिकवि भानुभक्त क्याम्पस, दमौली (२०७२–२०७८ फागुन) पराशर कलेज, दमौली (२०६१–२०६६) को पूर्व सहायक प्राध्यापक समेत हुनुुहुन्छ । शिव मा.वि. (हाल शिवसरस्वती मा. वि.), ऋषिङ्ग–८ को पूर्व प्रधानाध्यापक, जनज्योति मा. वि., भिमाद (२०५८) र सत्यवती मा. वि., दमौली (२०६५–२०७८ चैत) को पूर्व शिक्षक भएर शिक्षाको ज्यौति छर्न सफल आलेले २०५४ सालदेखि पोखराको निजी विद्यालय लिटिल स्टेप मा. वि. बाट अंग्रेजी विषय अध्यापन गरी शिक्षण प्रारम्भ गर्नुभएको थियो ।
त्यस्तै कानून विषय पनि अध्यापन गराउनुभएको उहाँ द्वन्दकालमा माओवादीको हस्तक्षेपको कारण स्थायी जागिर गुमाउन वाध्य हुनुपरेको थियो । नेपाली काँग्रेसकै राजनीतिमा झुकाव राखेकै कारण तत्कालिन माओवादी लडाकुहरूद्वारा ज्यान लिने धम्की समेत दिए । तर काँग्रेसको चार तारे झण्डा र यसको सिद्धान्तमा अडिक रहेर प्रजातन्त्रले दिएको हक अधिकार संरक्षण र लोकतन्त्रका लागि निरन्तर लडिरहनुभयो ।
स्थायी जागिर गुमाएपछि हालसम्म दरबन्दीमा रहेर काम नगर्नुभएको उहाँले अव गाउँपालिका अध्यक्षमा रहेर जनताको सेवामा समर्पित हुन चाहानुभएको छ ।
बुद्ध, गान्धी,अब्राहम लिङ्कन, मार्टिन लुथर किङ्ग, नेल्सन मण्डेला, मदर टेरेसा, बीपी, गणेशमान, किसुनजीका जीवनीबाट प्रेरणा लिने आले शालिन, सरल र सहज व्यक्तिको रुपमा चिनाउनुभएको छ।
सिद्धान्त र संस्कारसहितको सादगी राजनीतिमा विश्वास राख्ने उहाँमा कहिल्यैपनि तडकभडक देखिएन । सुविधासम्पन्न जीवनयापन गर्न सक्ने वातावरण हुँदाहुँदैपनि त्यसलाई त्यागेर ऋषिङ गाउँको विकासमा निरन्तर सक्रिय आलेले राजनीतिलाई देश र समाजसेवाको माध्यम बनाउनुपर्छ भनेर पुस्तान्तरणसहितको रूपान्तरणका लागि ऋषिङ गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएको बताउनुभएको छ ।
नेपाली काँग्रेस पार्टीले आफ्नो योगदान र त्यागलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएका आलेले टिकटको टुंगो लागेर पार्टीले निर्णयगरेपछि गाउँको विकास र समृद्धिका थप एजेण्डा लिएर जनताको घरघर पुग्ने बताउनुभएको छ ।