गैँडाकोट । अहिले टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान जारी छ । नयाँ खोप भएकाले केहीलाइ डर भएपनि यो खोप सुरक्षित रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको छ । टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिँदै ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।
मनहरी गाउँपालिका ५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताउनुभयो ।
टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गर्नुभयो । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।
देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उहाँको भनाई छ । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको छ ।
यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । चितवन र नवलपुरमा पनि यो अभियान जारी छ । विद्यालयमा खोप केन्द्र राखेर कार्यक्रम जारी छ । १५ महिना देखि १५ वर्षमुनिका सवैलाई खोप केन्द्रमा लैजान आग्रह गरिएको हो ।