चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । वडानम्वर ४ को लामिडाँडा स्याक्लाङमा तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो ।
सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
भवनको उद्घाटन र सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आफ्नो क्षेत्रका जनताले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुन नपर्नेगरी सेवा सुरु भएको बताउनुभयो ।
भवन नहुँदा सेवा समेत प्रभावकारी नहुने भन्दै गाउँपालिकाले रु. ३० लाख बजेट दिएर गत आर्थिक वर्षबाट निर्माण कार्यको थालनी गरिएको गुरुङको भनाई छ ।
स्थानीय जनताका लागि नजिकको सरकार नै स्थानीय सरकार भएकाले स्वास्थ्य, शिक्षा,कृषि पर्यटन लगायतको क्षेत्रमा गाउँपालिकाले विशेष चासो दिएर काम गरिरहेको उहाँको भनाई थियो । यहाँबाट चेपाङ, गुरुङ,मगर, दलित समुदायले स्वास्थ्य सेवा पाउन सहज भएको गुरुङले बताउनुभयो ।
आवश्यकता अनुसार निकट भविष्यमा ल्यावको समेत सेवा दिने तयारीमा गाउँपालिका रहेको गुरुङले बताउनुभयो ।
तीन कोठाको सो भवनको थप एक तला निर्माण गरिने उहाँको भनाई छ ।
कार्यवाहक वडाअध्यक्ष मुक्तिनाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ,जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।