चितवन । चितवनका दुग्ध सहकारीहरुले मूल्यमा मनपरी गर्दा साना डेरी व्यवसायीहरु मर्कामा परेको बताएका छन् । सहकारीहरुले विक्रि गर्ने दूधको मूल्यमा एकरुपता नहुँदा उपभोक्ता समेत ठगिनु परेको र आफूहरु समेत समस्यामा परेको नेपाल साना डेरी व्यवसायी संघ भरतपुर चितवनले बताएको छ ।
संघले आज पत्रकार सम्मेलन गरी सहकारीले उद्योगलाई फ्याटको आधारमा विक्रि गर्ने र डेरीहरुलाई भने लिटरको आधारमा विक्रि गर्नेगरेको गुनासो गरेका हुन् । संघका अध्यक्ष रामचन्द्र सेढाइले पटक पटक दुग्ध सहकारी संघमा कुरा राखेपनि सम्वोधन नभएपछि पत्रकार सम्मेलन गरेको बताउनुभयो । सरकारले तोकेको मूल्य प्रतिलिटर ८६ रुपैयाँ उपभोक्ताबाट लिनपाउने भएपनि सहकारीले व्यवसायीपिच्छे फरक फरक मूल्यमा विक्रि गर्दा एकरुपता ल्याउन नसकेको बताउनुभयो ।
त्यस्तै पछिल्लो समय दर्ता नगरी विना मापदण्डको दूध तथा दुग्धजन्य वस्तु छ्यापछ्याप्ती घुमाएर घर घरमानै पुर्याएर विक्रि वितरण भइरहेपनि प्रशासन मौन रहेको उहाँको भनाई थियो । डुलाएर दूध बेच्ने व्यवसायीहरुको विक्रि केन्द्र निश्चित नहुँदा राज्यलाई आउने कर समेत गुमेको र गुणस्तर नभए कसलाइ सम्पर्क गर्ने भन्ने अन्यौलताको वातावरण भएकाले यसको व्यवस्थापनमा सरकारले ध्यान दिन सेढाइको आग्रह छ ।
सरकारी निकायमा दर्ता भएर संचालित डेरीहरुले दुधको गुणस्तरमा ध्यान दिएको बताउँदै डुलेर विक्रि गर्नेहरुले गुणस्तर कायम गरेनगरेको अनुगमन हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष सेढाइले भन्नुभयो,“डेरीबाट लगेको दुधमा कैफियत भए सिधै गुनासो गर्न मिल्यो तर डुलेर विक्रि गर्नेहरुलाई कसरी गुनासो गर्ने ? प्रशासनले ध्यान दिओस् ।”
संस्थाका सल्लाहकार लोकनाथ सापकोटाले सफा र स्वस्थ दूध खुवाउने लक्ष्य अनुसार संघ चलेको तर प्रभावकारी अनुगमन र डुलाएर विक्रि गर्नेहरुको व्यवस्थापनमा सम्वन्धीत सहकारी र प्रशानसको सक्रियता नहुँदा समस्या भएको बताउनुभयो ।
२०६८/०६९ मा दर्ता भएको संघमा अहिले १६५ डेरी व्यवसायीहरु आवद्ध छन् । विगतमा प्रति दिन करिव ८० हजार लिटर दुध कारोवार हुँदै आएकोमा अहिले ५० हजार लिटरमा झरेको र वाँकी ३० हजार लिटर अनाधिकृत तवरले बजारमा विक्रि वितरण भइरहेको संघले जनाएको छ । कारोबार बढ्नु पर्नेमा घट्दै जानाले डेरी व्यवसायमा आश्रित परिवार प्रत्यक्ष मारमा हुने र अप्रत्यक्ष रूपमा डेरी व्यवसायीले खरिद गरी ल्याउने दुग्ध किसान र त्यसमा आश्रित परिवार समेत बेरोजगारमा परेको भन्दै तत्काल सुधार गर्न माग गरेका हुन् ।
चितवन जिल्लामा संचालित सहकारीहरुको हकमा हरेक सहकारीको फरक फरक दररेट कायम भएको हुँदा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुन जाने र उपभोक्ताले स्वस्थ दूध उपभोग गर्न पाउने अधिकारमा पनि समस्या उत्पन्न हुन गएको संघले ठहर गरेको छ ।
व्यवसायीहरु एकातिर राज्यलाई कर, घरभाडा, कर्मचारीको तलब दिन नसकेर मर्कामा छन् भने अर्कोतिर सहजरुपमा आफ्नो व्यवसाय गर्न नपाएर मर्कामा परेका छन् । सस्तोको नाममा घुमन्ते व्यवसायीको चपेटामा परेर डेरी व्यवसाय धरासयी बनिरहेको संघका अध्यक्ष सेढाइको भनाई थियो ।
पत्रकार सम्मेलन कार्यक्रम संघका सचिव चन्द्रप्रकाश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।



