चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा भएको विकास देखेर छोरी रेनुको परिचयनै फेरिएको बताउनुभएको छ । भरतपुर २ आँपटारीमा भूमिहीन दलितहरुलाइ लालपुर्जा वितरण गरेपछि सम्वोधन गर्दै उहाँले २०७४ चुनावतिर प्रचण्डको छोरी रेनु भनेर चिनिन्थ्यो तर अहिले विकास देखेर रेनुको वुवा प्रचण्ड भन्ने सुनिन्छ भन्दै महिलाहरुलाई नै अवको चुनावमा अवसर दिनुपर्नेमा उहाँको जोड थियो।
महागनरमा मेयर उपमेयर दुवै जना महिला भएर जनताको चाहाना अनुसार काम गरेको र निरन्तरको खटाइले वर्षौसम्मको सुकुम्वासी समस्या समाधातर्फ अग्रसर हुन सकिएको बताउनुभयो ।
अवको चुनावमा धेरै ठाउँको मेयर र अध्यक्षमा महिलाहरुलाई प्राथमिकता दिने बताउँदै प्रचण्डले भन्नुभयो,“सवै पुरुष वा महिला गलत नै छन् भन्ने होइन । तर एकचोटी मलाई महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौँ भन्ने छ । कयौँ वर्ष पुरुषले राज गरेर आइयाछ । यो पटक महिलाहरुलाई प्रथमिकता दिऔँ केही विग्रन्न । ”महिलाहरुले नेतृत्व गरेका मन्त्रालय देखि स्थानीय तहमा धेरै राम्रो कार्य भइरहेको भन्दै विकासमा झिनाझम्टी नहुन महिलाहरुले नेतृत्व गर्नुपर्नेमा उहाँको जोड थियो ।
भूमिहीनहरुलाई लालपुर्जा दिएर ऐतिहासिक कार्यको थालनी गर्न सफल भएको भन्दै आफूले २०३६ सालदेखिकै आन्दोलनमा आफ्नै देशमा बसेरपनि भूमिविहिन हुनुपरेका जनताको पीडालाई जोडदार उठाउँदै आएको र अहिले आएर त्यो पूरा भएको प्रचण्डको भनाई थियो । यही गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लाइ लालपुर्जा दिने उहाँले बताउनुभयो । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सवै राजनीतिक दलहरु एक हुन पनि उहाँको आह्वान थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शसी श्रेष्ठले गठन आदेश र कार्यविधि संशोधन गर्दा चाँडै काम भएको बताउनुभयो । केही ठाउँमा विरोध गर्नेहरु भएपनि आफूहरुले लालपुर्जा वितरणको काम नरोकेको उहाँको भनाई थियो । संविधानले दिएको अधिकारलाई सुनिश्चित गरेको भन्दै लालपूर्जा वितरण कुनै चुनावी प्रचार नभएको बताउनुभएको थियो ।
आज सो क्षेत्रका ४६ जना सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गरिएको सेवा केन्द्र प्रमुख आमोध सुवेदीले जानकारी दिनुभयो । १० वर्षसम्म विक्रिवितरण गर्न नपाइने गरी रातो लालपूर्जा वितरण गरेको उहाँको भनाई छ । महानगरले २, १४ र २१ नम्वर वडामा सवै प्रकृया पूरा गरेर लालपुर्जा वितरण गर्ने अवस्थामा आएको सुवेदीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले चुनावी प्रतिवद्धता पूरा गर्न सफल भएको भन्दै अन्य वडामा पनि जग्गा नापजाँच सुरु भइसकेको र चाँडै लालपुर्जा वितरण गर्ने बताउनुभयो ।
कार्यक्रममा भूमि आयोगका अध्यक्ष केशव निरौला, उपप्रमुख पार्वती शाह ठकुरी, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सेना लगायतको उपस्थिती थियो ।