चितवन । चितवनको रत्ननगर नगरपालिका जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ । देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । मंगलवार नगरपालिकाको प्राङगढमा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो नगरपालिकालाई वालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गर्नुभयो ।साथै बालमैत्री घोषणा गरिएको शिलालेखलाई अनावरण गर्दै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर सो घोषणा गर्नुभएको हो ।
६ बर्षको अबधिमा नगरभित्र रहेका ४२९ जना बालवालिकालाई श्रममुक्त नगरपालिकालाई वालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले जानकारी दिनुभयो । नगरपालिकालाई वालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ भने १४० जनालाई सीपमुलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताउनुभयो ।
२०६४ सालबाट २०६८ साल सम्म आइपुग्दा ५५८ जना वालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या कही घटेर ४२९ मा झरेको थियो । नगरपालिका भित्र वालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी वालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताउनुभयो । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर वालश्रम मुक्त भएको उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले वालश्रम विरुद्ध आवाज उठाउने,आफुले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा वालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र,वालवालिकाको स्थितिपत्र सार्वजननिक तथा नगर स्तरीय वाल क्लव र वडा स्तरीय वाल क्लवहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले वालश्रम मुक्त र वालमैत्री नगर घोषणाले वालवालिकाको जीवनमा परिर्वतन ल्याउने बताउनुभयो । यो सामान्य किसिमको घोषणा नभएको भन्दै उहाँले भविश्यका कर्णधारहरुको भविश्य सुरक्षित गर्न गरिएको महत्वपूर्ण काम भएको बताउनुभयो । मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफु प्रयत्नशिल रहने बताउनुभयो । साथै आउँदो चुनावहरुमा बालअधिकार हनन् हुन नदिनेगरी घोषणापत्र बनाउनुपर्ने र चुनावमा एकले अर्कालाई गालीगलौजको वातावरणमा नउत्रन सवै दलहरुलाई आह्वान समेत गर्नुभयो ।
प्रदेश सभा साँसद कन्चन खनालले वालश्रम विरुद्ध आफुले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसंगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताउनुभयो । मेयर वनले आफ्नौ पछिल्लो पाँच बर्षे कार्यकालको महत्वपूर्ण काम वालमैत्री घोषणा रहेको बताउनुभयो । पर्याप्त बजेट छुट्टाएर रणनीतिक योजना बनाई यसको दीर्घकालिन कार्यान्वयनमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेपाली काँग्रेसकी नगर सचिव अनिला अर्याल,माओवादी केन्द्रका नगर अध्यक्ष श्यामप्रसाद बराल,समाजबादी पार्टीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,नगर स्तरीय बाल सञ्जालकी अध्यक्ष रोजिसा घिमिरे,अधिकारकर्मी नविना गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गर्नुभएको थियो ।