चितवन । चितवनको रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको हो ।
सोमबार एक समारोहका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा संस्कृतिक ग्रामको उद्घाटन गर्नुभयो । सो नगरपालिकाले सांस्कृतिक ग्रामको उद्घाटनसंगै सञ्चालनको लागि सामुदायिक वनलाई हस्तान्तरण गरेको छ । सञ्चालनको लागि मेयर नारायण वन र वनका अध्यक्ष इश्वरी प्रसाद लामिछानेले सम्झौतापत्रका हस्ताक्षर समेत गर्नुभएको छ । सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा नगरपालिकाको १ करोड ६१ लाख र सामुदायिक वनको १४ लाख ५० हजारको लगानीमा विभिन्न जातजातीका सात वटा घर निर्माण गरिएको छ ।
होम स्टेका लागि चेपाङ,थारु,दराई,कुमाल,मुसहर,गुरुङ र तामाङको परम्परागत घर निर्माण गरिएको छ । होम स्टेमा १२ वटा रुम रहेको र ३७ जना पर्यटकलाई रात बस्न मिल्ने क्षमता रहेको छ । भान्साकोठा,डाइनिङ हल,सभाहल समेत रहेको छ । पर्यटन प्रर्वद्धन गरी स्थानीय समुदायको आयआर्जनको लागि होम स्टे सहितको साँस्कृतिक ग्राम निर्माण गरिएको मेयर नारायण वनले बताउनुभयो ।
स्थानीय आदिबासी जनजातीको पहिचान झल्किने,बहुभाषिक,बहु सांस्कृतिक, बहुजातीय विविधतायुक्त समाजको प्रतिनिधित्व हुने गरी होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । सौराहामा आएका पर्यटकलाई होम स्टेमा सेवा प्रदान गरी रत्ननगरलाई पर्यटन प्रर्बद्धनका हिसावले अब्बल बनाउने उद्देश्य रहेको मेयर वनले बताउनुभयो । सौराहालाई सिरानी हालेर रत्ननगरका अन्य ठाउँमा पर्यटन गतिविधि बढाउने योजना रहेको उहाँले बताउनुभयो । सौराहामा आएका पर्यटकलाई साँस्कृतिक ग्राम,मणिखोला पार्क,धर्मधाम जिरौना सम्म लैजाने र पर्यटकको बसाइ लम्ब्याउने दीर्घकालिन योजना अनुुुुसार पर्यटकीय पार्क निर्माण गरिएको उहाँको भनाई छ ।
संस्कृतिग्रमबाट भएको आम्दानीको ४० प्रतिशत होम स्टेको स्तरोन्नती गर्ने,४० प्रतिशत सामुदायिक वनको विकास र २० प्रतिशत स्थानीय समुदायको आयआर्जनमा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा वनका अध्यक्ष लामिछानेले निकुञ्ज भित्रको चाँप कम गर्न स्थानीय सरकारसंगको सहकार्यमा पार्क निर्माण गरिएको बताए । निकुञ्ज आफैमा ठुलो पार्क हो । उहाँले भन्नुभयो,“ पर्यटकीय गतिविधिले निकुञ्जमा चाँप बढी छ,त्यसलाई घटाउन होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । ”
कार्यक्रममा उपमेयर विमला दुवाडीले पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउन होम स्टे सञ्चालनमा ल्याएको बताउनुभयो । परम्परागत संस्कृतिको प्रर्दशन तथा स्थानीय उत्पादनको खपतका हिसावले सांकृतिक ग्रामको उपयोग गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मी लगायतको सहभागिता रहेको थियो । सोही क्षेत्रमा इको पार्क निर्माणको लागि प्रदेश सरकारले १ करोड ४० लाख रुपैया लगानी गरेको छ । नगरपालिका,सामुदायिक वन र प्रदेश सरकारको सयुक्त लगानीमा होम स्टे सहितको इको पार्क निर्माणको भइरहेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिनुभयो ।