चितवन । चितवनमा स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीमात्रै सहभागी हुन पाउनेछन् ।
भरतपुर ७ कृष्णपुर खेलमैदानमा सुरु प्रतियोगिताको बागमती प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न प्रतियोगिताका लागि बजेट दिएको बताउनुभयो । साथै कृष्णपुर रंगशालालाई अन्तराष्ट्रिय तहमा चिनाउन पहल भएको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो । साथै खेललाई उमेर छेक्दैन भन्ने प्रमाणीत गर्न सफल भएको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले प्रदेशबाट पर्याप्त बजेट पाए कृष्णपुरलाई नमुना खेल मैदान बनाउने बताउनुभयो । पछिल्ला फुटवलका धेरै प्रतियोगिता आयोजना गरेको भन्दै फुटवप्रति रुचि बढाउनेहरु बढ्ै गएको बताउनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ’ए’ मा चितवन भेटेरान रातो, कैलाली भेटेरान, वौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एन आर टी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।
समूह ’बी’ मा साबिक विजेता काल भैरव भेटेरान हेटौंडासहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाई खलक भेटेरान पोखरा, कलकत्ता भेटेरान भारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेरान निलो र नवलपुर भेटेरान रहेका छन् ।
प्रतियोगिता यस पटक नाइन ए साइड हुनेछ । हरेक दिन बिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ ।
उद्घाटनको दिन भने आज दुई खेल भएको छ । पहिलो खेलमा काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । जसमा फ्रीडम फाइटर काठमाडौं ५–१ ले विजयी भएको छ । साविक विजेता काल भैरव हेटौँडा १ गोलमै सीमित भएको छ । दोस्रो खेलमा नवलपुर र चितवन निलो वीच भएको प्रतिस्पर्धामा नवलपुर २–१ ले विजयी भएको छ ।
विजेताले एक लाख ५१ हजार र उप–विजेताले ७५ हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मेन्द्र शाही ठकुरीले स्वागत गर्नुभएको थियो भने खेल संयोजक भरत सुवेदीले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।
प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँच–पाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले तीन–तीन हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने बताइएको छ । किया मोटर्स प्रतियोगिताको मुख्य प्रायोजक हो भने भरतपुर महानगरपालिका सह आयोजक हो। गत वर्ष नै हुनुपर्ने प्रतियोगिता कोभिडका कारण यस वर्ष आयोजना गरिएको हो ।