चितवन । चितवनको माडी नगरपालिका ९ मा निर्माण गरिएको राम मन्दिर परिसरमा आजदेखि महायज्ञ गरिदै छ । मन्दिरको थप प्रचारप्रसार र आयोध्याधाम निर्माणका लागि प्रमाण समेत जुटाउन सहयोग पुग्नेगरी श्री रामायण पाठपारायण नवाह गरिने भएको हो ।
रामनवमी पर्वको अवसर पारेर चैत १९ देखि २८ गतेसम्म महायज्ञ हुने र करिव १ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिनुभयो ।
महायज्ञ सफल बनाउन भण्डारीको अध्यक्षतामा रामायण पाठपरायण महाज्ञान यज्ञ संचालक समिति गठन गरिएको छ । १२५ सदस्यीय मुल समिति र १३ वटा उपसमिति छन् । अयोध्याधाम व्यवस्थापन समितिलाई अनगमनको जिम्मा दिइएको छ । अध्यक्ष भण्डारीले अयोध्याधामका लागि पर्याप्त प्रमाण रहेको तर उत्खनन् गर्न सरकारले बजेट नदिएको गुनासो गर्नुभयो । अहिलेको महायज्ञले प्रमाण जुटाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा भारतको विहार लगायत नेपालका विभिन्न ठाउँबाट भक्तजनहरु आउने अपेक्षा गरिएको माडी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ९ का वडाअध्यक्ष शिवहरी सुवेदीले जानकारी दिनुभयो ।महायज्ञको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले दिउँसो १ बजे उद्घाटन गर्नुहुने सुवेदीले बताउनुभयो । उद्घाटन अघि सरुई नदीका पानी लिएर १०८ वटा कलश सहित यात्रा हुने उहाँको भनाई छ ।
अयोध्याधाम बनाउन वडामा रहेको १ सय विघा जमिन छुट्याएपनि केपी ओली नेतृत्वको सरकारले दिएको २ करोड बजेट अर्को सकार आउनासाथ कटौती भएको भन्दै माडीको विकासमा राजनीति नगर्न आग्रह गर्नुभयो ।
कथा शिरोमणी पण्डीत दिपक प्रसाद पौडेलले कथा बाचन गर्नुहुने प्रचारप्रसार समितिका संयोजक रामप्रसाद भण्डारीले बताउनुभयो ।