चितवन । पशुपंक्षीलाई पनि मानवीय व्यवहार गर्न एनिमल नेपालले आग्रह गरेको छ । आज चितवनको सौराहामा आयोजित पशु कल्याण सम्बन्धि अन्तक्रिया कार्यक्रममा बौल्दै कोअर्डिनेटर सुमेधा गौतमले पशुलाई पनि मानव सरह व्यवहार गरेमात्रै उनीहरुबाट गुणस्तरीय उत्पादन लिन सकिने बताउनुभयो । घरमा पालिने, सडक वा वनमा भएका सवै पशुपंक्षीलाई कल्याण गर्न आग्रह गर्दै उनीहरुको पाँच वटा स्वतन्त्रतामा सधैँ ख्याल राख्न आग्रह गर्नुभयो ।
पछिल्लो समय बजारमा विरामी भएका, कमजोर तथा मरेका पशुपंक्षिको समेत मासु विक्रि भइरहेको गुनासो आएपछि आफूहरुले पशु कल्याणलाई जोड दिँदै सचेतना कार्यक्रम गर्दै आएको गौतमले बताउनुभयो । एनिमल नेपालले मासु खान, नखान केही नभन्ने तर पशुपंक्षीको अधिकारलाई संरक्षण र सम्मान गर्न भने सिकाउने गरेको छ ।
पशुपंक्षीलाई स्वस्थ्य राख्न सकेमात्रै उनीहरुबाट गुणस्तरीय मासु आउने र यसले पशुपंक्ष्ीापालन गर्ने व्यवसायी, मासु धेरै प्रयोग हुने होटल तथा रेष्टुरेण्टहरु पनि दीर्घकालिन रुपमा संचालन हुने बताउनुभयो । नेपालमा आउने विदेशी पर्यटकहरुले गुणस्तर नहुने भन्दै मासु नखाने गरेको उहाँको भनाई छ । मासु काट्ने स्थलहरुमा माछा भन्कने,खुल्ला ठाउँमा मासु विक्रि गरिरहने, वध गर्दासमेत सफा ठाउँमा नहुने, ओसारपोसारमा पनि लापर्वाही हुने आदि प्रत्यक्ष देख्ने विदेशीहरुले यहाँ मासुको प्रयोग गर्न छाडेको बताउनुभयो।
कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ सौराहा चितवनका पूर्वअध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले गुणस्तर नहुने भन्दै विदेशी पर्यटकहरुले नेपालमा मात्रै मासु नखाने गरेको बताउनुभयो । एनिमल नेपालले राम्रो कार्य गरेको भन्दै पशुपंक्षी पालकलाई अझ बढी सचेत गराउन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले गुणस्तरीय मासु प्रयोगमा जोड दिने बताउनुभयो । सचेतना कार्यक्रम प्रभावकारी रहेको र उपभोक्ता भएका कारण आफूहरुलाई कमै थाहा हुने उहाँको भनाई थियो । मासु ल्याइदिने आपूर्तिकर्ताबाट जस्तो आयो त्यसैलाई विश्वास गरिरहेका भन्दै अव बाट पशु कल्याण रहेनरहेका समेत सोधपुछ गर्ने बताउनुभयो ।
होटल व्यवसायी माधव दुवाडी लगायतले पशु कल्याणको सन्देश सवै ठाउँमा पुर्याउन सुझाव दिँदै सरकारी निकायलाई पनि संगसंगै जोडेर कार्यक्रम गर्न आग्रह गर्नुभएको थियो । उपभोक्ताको तर्फबाट आफूहरुले पनि गुणस्तरीय मासु प्रयोगमा जोड दिने प्रतिवद्धता उहाँहरुको थियो ।
एनिमल नेपालका सुपरभाइजर देव उपाध्यायले २००९ सालमा काठमाडौंमा संस्था स्थापना भएको र चितवनमा समेत शाखा रहेकाले यहाँ बोइलर कुखुराको कल्याणमा बढी केन्द्रीत भएको बताउनुभयो ।



