चितवन । भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको खेलमा मकवानपुर विजयी भएको छ ।
नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मकवानपुरले दिएको २२४ रनको लक्ष्य पछ्याएको नवलपुर ३०.२ ओभरमा १०७ रनमै अलआउट भएपछि मकवानपुरले फराकिलो जित हात पारेको हो । नवलपुरका लागि किशोर महतोले ४३ बलमा ३८ रन बनाए । कमल परियारले २३ बलमा २१ रन बनाए भने दीपक डुम्रेले १२ रन बनाए । अन्य व्याटरहरुले दोहोरो अंक छुन सकेनन् ।
मकवानपुरका लागि रामनरेश गिरी, समिर चौलागाई र विपुल खनालले समान २÷२ विकेट लिए भने रिजन ढकाल र असिम श्रेष्ठले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको मकवानपुरले ४१.५ ओभरमा २२३ रन बनाउँदै अलआउट भयो । मकवानपुरका लागि सुव कंशकारले ३३ बलमा ५७ रन बनाए भने रिजन ढकालले ७१ बलमा ५६ रन बनाए । ओपनर गौरव खड्काले ३८ रन बनाए । मकवानपुरका लागि गौरव र सुवले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए ।
यस्तै नवलपुरका लागि कमल परियारले १० ओभरमा ३० रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए भने अप्रजित पौडेलले १० ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिन सफल भए । विशाल पौडेल र रिजन काफ्ले समान एक÷एक विकेट लिए ।
खेलमा मकवानपुरका रिजन ढकाल प्लेयर अफ दि म्याच चुनिए । उनलाई होटल ह्याप्पी होमका संचालक कृष्ण महतो र गोधूली बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक शरद कुमार महतोले नगद र उपहार प्रदान गरेका थिए ।
प्रतियोगिमा उत्कृष्ट सुरुवात गर्दै मकवानपुर लिगको पहिलो स्थानमा रहेको छ भने एक जित र एक हारसहित नवलपुर दोस्रो, पहिलो खेलमा नवलपुरसंग पराजित चितवन तेस्रो तथा अन्तिम स्थानमा छ ।
प्रतियोगिता अन्तरगत भोलि (बुधबार) चितवन र मकवानपुरबीच भिडन्त हुनेछ । चितवनले मकवानपुरलाई फराकिलो अन्तरले पराजित गर्न सके मात्रै फाइनलमा स्थान बनाउने छ । हार व्यहोरेमा मकवानपुर र नवलपुर उपाधिका लागि भिड्ने छन् ।
हिजो उद्घाटन खेलमा नवलपुरले चितवनलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घघाटन गरेकी थिइन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो ।