चितवन ।
स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन केही महिना बाँकी हुँदा नयाँ निर्वाचनका लागि मिति घोषणा भएर निर्वाचन आयोगले अन्तिम मतदाता नामावली समेत प्रकाशीत गरेको छ । सवै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकी मतदानस्थल र मतदान केन्द्र समेत सार्वजनिक गरेको छ ।
प्रायको ध्यान निर्वाचन केन्द्रीत भइरहदा चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाकी अध्यक्ष गीता कुमारी गुरुङ भने अझैपनि जनताको घरघर पुग्ने र समस्या सोध्दै सम्भव भएसम्म समाधानमा व्यस्त हुनुहुन्छ । साथै गाउँगाउँमा पुगेर २०७४ को चुनावमा जनतासँग भएका गरेका प्रतिवद्धता पूरा भएकी भएनन् निरीक्षण गर्दै हुनुहुन्छ । अन्तरवार्ताका क्रममा गाउँपालिका पुग्दा मुस्किलले समय मिलेको उहाँले आँखाको उपचारका लागि गाउँपालिका आउनुभएकी एक महिलालाई आर्थिक सहयोग र अस्पतालसँग समन्वय गर्दै हुनुहुन्थ्यो ।
गीता कुमारी गुरुङ २०७४ सालको स्थानीय चुनावमा ३ हजार २५४ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । अवको चुनावका लागि इच्छाकामनामा कुल १५ हजार ६३४ मतदाता पुगेका छन् । उनीहरुले २०७९ साल वैशाख ३० गते हुने चुनावमा मत हाल्नेछन् ।
प्रस्तुत छ घटनाचक्र डट कमका सम्पादक डोलराज रानाभाटले अध्यक्ष गीता कुमारी गुरुङसँग गर्नुभएको अन्तरवार्ता
तपाईलाई गाउँगाउँ पुगेको देखिन्छ,हुन त अध्यक्षको काम पनि होला खास उद्देश्य चाहिँ के हो ?
स्थानीय तह सम्हालेको करिव पाँच वर्ष पुग्न लागेको छ । हामी अन्तिमतिर छौँ । हामी जनप्रतिनिधिहरुको केही समय मात्रै बाँकी छ । हिजो निर्वाचनमा जाँदा जनतासँग जुन प्रतिवद्धता गरेर निर्वाचित भएका थियौँ अहिले त्यो प्रतिवद्धता पूरा भएकी भएनन् भनेर हेर्न गाउँगाउँ हिँडेको छु । यो पाँच वर्षमा आफूहरुले जनतालाई भनेका, बोलेका मेरा जनताले सोँचेका सपनाहरु कति पूरा भए भएनन् । ती कुराहरुको जानकारी जनतसाँग हामीले लिनुपर्छ ।
जनताले अनुमोदन गरेर हामीलाई पठाएपछि हामी उनीहरुप्रति उत्तरदायी हुनैपर्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले पनि अहिले म जनताको घर घर पुग्ने गरिरहेको छु । अर्कोतर्फ पाँच वर्षको अवधिमा के कति काम गर्यौँ त? किनकी जनताले भोट हालेर पठाएकाले हामी जनताको सेवक हो । कति सेवा दिन सक्यौँ त ? त्यस्तै प्रशासनिक, विकास, सुशासन, भौतिक निर्माण, ऐन कानुन ,कार्यक्रम, योजना ल्याएर कार्यान्वयन गर्यौँ त ? यी सवै कुरामा हामीले कति परिणाम दिन सक्यौँ त ? हामीले गरेका कार्यसम्पादन मूल्याङ्कन जनतासँग राख्नुपर्छ भनेर अहिले हामी गाउँगाउँमा गइरहेका छौँ ।
वडामा गएर त्यहाँका टोल, नागरिक समाज, राजनीतिक दल, हरेक व्यक्तिहरुलाई तपाईको टोलगाउँ वडामा हिजो यो थियो आज यतिसम्म गर्न सक्यौँ भनेर जानकारी गराइरहेका छौँ । त्यसैले गाउँगाउँमा छौँ ।
हिजोको इच्छाकामना र आजको इच्छाकामनामा परिवर्तन आयो त ?
हिजोको अवस्था र आजको अवस्थामा त धेरै परिवर्तन आएको छ । हिजो हामी निर्वाचित हुँदैगर्दा कसरी काम गर्न सकिन्छ होला? यस्तो विकट, दूरदराजका गाउँमा ? जनताले भोट हालेर त पठाउनुभयो । अव जनताको काम कसरी गरेर परिणाम देखाउने होला ? भन्ने चिन्ता त थियो । तर चुनौतिसँगै जनप्रतिनिधिमा पनि अध्यक्ष हुने अवसर पाएँ हौसला पनि थियो जोश र जाँगर पनि । जनताले पत्याउनुभयो ।
केही गर्छ नै भनेर जिताउनुएको हो नि । यहाँ चेपाङ, दलित तथा विपन्न वर्गहरु धेरै हुनुभएको गाउँपालिका हो । काम गर्न कठिन नै छ भन्ने थियो तर पदभार ग्रहणपछि म जनताको सेवक हँु भन्ने मन्त्रलाई मनमा राखेर योजना, कार्यक्रम,चुनावमा जनतासँग गरेको प्रतिवद्धतालाई जनताको आवश्यकता ठानेर सोही अनुसार कार्यक्रम,योजना, बजेट बनाउन, बजेटको आकार बढाउन, आन्तरिक आय वृद्धिमा निरन्तर लागिरह्यौँ ।
प्रतिफलस्वरुपः जनप्रतिनिधिहरुको सक्रियताले आज घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने गाउँगाउँमा मोटरबाटो पुर्याउन सकेका छौँ । हरेक टोल सडक सञ्जालबाट जोडिएको छ । एक वडाबाट अर्को वडा जान सडक छ । हरेक ठाउँमा खानेपानीको व्यवस्थापन भएको छ । शिक्षामा तीव्र प्रगति देखिएको छ । कृषिमा व्यवसायीकरण गरिएको छ, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै सुन्तला खेती लगायतलाई प्रोत्साहन गर्न सकिएको छ । यहाँभित्रका पर्यटकीय क्षेत्रलाई एकीतृत गरी संरक्षण र विकासमा लागिरहेका छौँ । यी लगायतका कार्यहरु हेर्दा आफू जनप्रतिनिधि हुने जुन अवसर पाइयो, चुनौतिपूर्ण ठाउँलाई पनि एउटा परिवर्तन बनाएर लैजान सक्दा आफूलाई अहिले भाग्यमानी नै ठानेको छु ।
धेरैले काठमाण्डौ जाने सडक किनारमै पो रहेछ इच्छाकामना त भन्छन् । गाउँपालिकाको कार्यालय पनि हाइवे नजिकै छ । खास ईच्छाकामनाको भौगौलिक अवस्था के हो?
तपाईको प्रश्न यसरी आयो जुन म आफैले धेरै पटक भोगेको छु । अझैपनि कतिपयलाई के लाग्दो रहेछ भने इच्छाकामना भनेको हाइवेको ३५÷३६ किलोमिटर त हो नि । तर इच्छाकामना गाउँपालिकाको सात वटा वडा छ । वडानम्बर १ ,२ र ६ अति विकट हो । अहिले त्यो विकटता हिजो थियो, आज छैन । हामीले दिनरात खटेर निकटमा ल्याइसकेका छौँ । अहिले हामी जुन ठाउँमा जान खोजेका हौँ, सो ठाउँमा सहजै र समयमै पुग्न सक्छौँ ।
किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण वनेको छ । हिजो कथा भनेजस्तैगरी इच्छाकामनालाई चिनाउनुपर्ने वाध्यता थियो । यो तितोसत्य हो । तर अहिले जनप्रतिनिधि आउनुपूर्व कथा जस्तै भनेर चिनाउनुपर्ने ठाउँहरुलाइ आज सहजै पुगेर आँखाले हेरेर, हातले छोएर अवलोकन गर्न सक्ने बनाएका छौँ । हिजोको विकटतालाई स्थानीय तहको निर्वाचनमा मेरो नेतृत्वमा आएको जनप्रतिनिधिहरुले निकटतामा ल्याएर एकदमै परिवर्तन गरेका छौँ ।
आज धेरै सहजता भएको छ । तर अझै गर्न बाँकी छ । गाउँपालिका भएकाले पर्याप्त बजेट अभाव, संघ प्रदेश सरकारलाई बुझाउन कठिन,बुझाएपछि बजेट ल्याउन कठिन यी आदि इत्यादी त छ नै तर पनि जति स्रोत हामीसँग थियो त्यही परिचालन गरेर अहिले आएको परिवर्तनबाट हामी खुसी छाँै, सन्तुष्ट हुन बाँकी नै छ ।
अहिले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, वडा कार्यालयहरुको आफ्नै भवन निर्माण, गाउँपालिका आफैले अस्पताल संचालन लगायतका धेरै काम गरेका छौँ । चाँडै यो पाँच वर्षको अवधिमा भएका कार्यहरुको विवरण सहित पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।

एक त महिला, त्यसमाथि गाउँपालिकाको अध्यक्ष । काम गर्न कति सजिलो रहेछ ?
हेर्नुस् चुनौति त हुदो नै रहेछ । काम गर्नेक्रममा चुनौति छ । सुरुसुरुका समय त महिलाले के गर्न सक्छ र ? कहाँबाट बजेट ल्याउँछ र ? भन्ने कुराहरु पनि आए । महिलाले कर्मचारीहरुलाई कसरी परिचालन गर्न सक्ला लगायतका कतिपय प्रश्नहरु समाजबाट आए । तर मैले त्यसरी आउने भ्रमपूर्ण प्रश्नलाई चिर्दै, समाजका विकृति विसंगतिलाई उखेल्दै रुढीवादी सोचलाई परिवर्तन गराउँदै हिँडे । किनकी मलाई यो त अवसर थियो । नेपालको संविधान २०७२ ले सृजना गरेको ऐतिहासिक मौका थियो । अवसरलाई स्थापित गराउन म निकै लागिपरेँ । त्यसपछि समाजले पनि बुझ्न थाले की गीता कुमारी गुरुङले काम गर्न सक्छ ।
चुनौतिपूर्ण भएपनि त्यसरी आउने प्रश्नलाई मैले एकदम सहर्ष खुसीसाथ स्वीकार गरेर सवै भ्रमलाई चिर्न सफल भएँ । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टचार भयो भन्ने लगायत कुनै गुनासो आउन दिएको छैन ।
जनतालाई जसरी हुन्छ सहजै सेवा दिइरहेका छौँ । मालिक होइन की सेवक बन्न आएकाले जनताले पनि सजिलै बुझ्न थाल्नुभयो। अस्तव्यस्ततालाई व्यवस्थापन गरेँ । संघर्षका साथ काम गरेँ । तर चुनौति भने आउँछन् । हिम्मतका साथ चिर्दै जानुपर्छ । जनताले आफै बुझ्न थाल्छन् ।
संघ र प्रदेशको सहयोग कस्तो रह्यो ?
हामीले इतिहासमै पहिलो पटक संघीय संरचनाको अभ्यास गर्यौँ । केन्द्रले समातेर बसेको अधिकारलाई फ्वात्त छोड्दाखेरी कति आफ्नो बहसमा रहने, कति अरुलाई जान्छ भन्ने कौतुहल रहिरह्यो । यस कारण संविधानले नै संघ र प्रदेशले स्थानीय तहलाई दिनुपर्ने अधिकार जुन प्रष्ट तोकेको छ त्यो पूरै नभएपनि संघ र प्रदेशसँग बाझिने कानुन हामीले बनाएनौँ । मिल्दोजुल्दो आफूलाई प्राप्त अधिकारमा रहेर काम गर्यौँ । बजेटिङको काम गर्दा केही कठिनाइ पक्कै आइपर्दा रहेछन् ।
मैले पाँच वर्षमा अनुभव गरेको कुरा के हुँदो रहेछ भने जनप्रतिनिधि भनेको ग्राँसरुटदेखि यहाँको भूगोल,जनता,समुदाय, उनीहरुको चाहाना, आवश्यकता सवै पहिचान गर्न सक्ने व्यक्ति हुन्छ । महिला भएपनि आफूले कहिल्यै कमजोर ठानिन । संविधानले मलाई के अधिकार दिएको छ र कसरी जनताको हातमा पुर्याउन सकिन्छ भन्ने अध्ययन, परामर्श, तालिम, गोष्ठीले धेरै सहयोग पुर्यायो । त्यसैले महिला भएकै कारण त केही पनि फरक परेन ।
तर सीमित स्रोत र संघ प्रदेश सरकारबाट गरिने मूल्याङ्कनबाट भने केही कठिन पर्यो । मूल्याङ्कन भन्नाले गाउँपालिकको योजना लिएर बजेट माग्न गयो कतिपयलाई त यो गाउँपालिका छ भन्ने थाहा पनि नहुँदो रहेछ । कतिले यो त काठमाण्डौँ जाने सडक छेउमै छ विकसीत नै छ किन चाहियो भन्ने जस्ता उत्तरले भने हैरानी खेप्नुपर्यो । तर सहयोग नै नभएको चाहिँ हुँदै होइन ।
मेरो अनुभवनले आफ्नो ठाउँलाई पहिचान गर्न सक्ने व्यक्ति हुँदा विकास पनि सहज र चाँडै हुने पाएँ । तर संघ प्रदेशमा प्रतिनिधित्व गर्नेहरु जुन भुगोलबाट गएका छन् त्यहाँको मात्रै वस्तुस्थिती चित्राङ्कन हुने, झलझली आउने र थाहा हुने भयो तर सवै ठाउँको बारेमा जानकारी नहुने हुन्छ । जस्तो इच्छाकामनाको सिराइचुली कस्तो छ भनेर चिनाउन उनीहरुलाई चित्र कोरिरहन पर्छ । तर हामीलाई त झलझली आँखामा आउँछ । के आवश्यक छ? क गर्दा यसको प्रचारप्रसार र विकास हुन्छ? कण्ठै हुन्छ । त्यसैले संघीयताले स्थानीय तहलाई बलियो गराउनुको मुख्य कारणहरु यी हुन् जस्तो लाग्छ ।
सहज, सरल र विना विवाद निरन्तर काम गरिरह्यौँ । सिँहदरवारमा केन्द्रीत अधिकार जनताको घरमा पुर्याएऔँ । तर चितवन जिल्ला विभिन्न विषयको राजधानी भनिन्छ त्यही जिल्लाको इच्छाकामना भने विकट छ भन्ने बुझेर संघ र प्रदेशले बजेट दिएको भए अझ बढी परिवर्तन गर्न सक्थ्यौँ की भन्ने लागिरहन्छ । तर नीति र विधिले दिएअनुसार कामहरु भइरह्यो ।

अव स्थानीय निर्वाचन २०७९ नजिक आइसक्यो । पुनः गाउँपालिकाको अध्यक्षमा दोहोरिने तयारी छ ?
तयारी नै त के भनौँ र । हुन त चुनाव पनि आइसकेको छ । जनताको आवश्यकता र चाहाना अनुसार कामहरु अझै गर्न बाँकी छ । त्यतिमात्रै होइन,आफ्नो पनि गाउँपालिकाको समृद्धिका लागि एउटा देखेको सपनाहरु बाँकी छन् । केही अधुरा छन् । पाँच वर्षसम्म अनुभव गरेका, हिँडेर देखेका गाउँहरुको आवश्यकता कतिपय अझैपनि पूरा गर्न नसकेका योजनाहरु बाँकी छन् । ती योजना पूरा गर्न जनताले खोजिरहेका छन् । जनताको सेवक भएर पुनः आउने र उनीहरुको आवश्यकता अनुसार काम गर्न तयार भएकाले पुन अध्यक्षमा आउने अवसरलाई नकार्न सकिदैन । किनपनि भने म समाजसेवामै समर्पित हुन रुचाउने महिला हुँ ।
जनताको सेवा गर्न पाउँदा मलाई त्यही नै स्वर्ग महसुस हुन्छ । यो अवधि कति धेरै दुःख, पीडा, समस्यामा गहिरो गरी परेका आफ्नै जनता भेटेँ । त्यसरी समस्यामा रहनुभएका मेरो भगवान स्वरुपका जनताको जीवनस्तर उकास्न मैले कुनै कसर बाँकी राखेको छैन । तर सुरुको पाँच वर्ष पर्याप्त भएन । बाँकी जिवननै समाजसेवाका लागि समर्पित गर्दै आफ्नो गाउँपालिका बनाउन होमिइसकेपछि आवश्यकताकै आधारमा जनताले गीता कुमारीको पुनःआगमन चाहेको मैले पाएँ ।
गाउँगाउँ पुग्दापनि यही आवाज उनीहरुको छ । फेरि पनि गाउँपालिका अध्यक्षमा आउनुपर्छ भन्ने माग छ । मेरो मनस्थिती पनि दोहोरिनु पर्छ की एक पटक भन्ने छ । यो चाहानाले भन्दा पनि आवश्यकताले पनि म दोहोरिनुपर्छ भन्ने लागेको हो । जनताले पुनः माग गरिरहदा म आफै होइन म दोहोरिन्न भन्ने छैन । त्यसैले आवश्यकता र माग अनुसार हुन्छ ।
यो गाउँपालिकालाई कस्तो बनाउन खोजिएको हो ? कस्तो परिकल्पना थियो जसलाई पूरा गर्न पुनः अध्यक्षमा दोहोरिनुपर्ने हो ?
हेर्नुहोस् हाम्रो त्यति ठूलो सपना छैन । सुरुमा घण्टौँ हिँडेर घर जानुपर्ने जनताको वाध्यतालाई प्राथमिकता दियौँ र सडकसञ्जालले जोड्यौँ । दोस्रो एक गाग्री पानी लिन कति कठिन थियो अहिले सम्झदा पनि कहालिलाग्दो छ । हामीले घरमै धारो ल्यायौँ। शिक्षामा, स्वास्थ्यमा पनि हाम्रो पहल भएर काम गर्यौँ । मैले भनिहालेँ, पाँच वर्षका उपलब्धी चाँडै सार्वजनिक गर्दैछौँ । जहाँसम्म तपाइको प्रश्न छ किन दोहोरिने भन्ने ? हामीले अझै बनाउन खोजेको भनेको इच्छाकामनाले जुन नारा बोकेको छ, ‘सुखी खुसी समृद्ध इच्छाकामना, कृषि, पर्यटन, पूर्वाधार विकास, हाम्रो चाहाना’ यसलाई सय प्रतिशत सफल बनाउनु पर्छ भन्ने हाम्रो अर्जुनदृष्टी हो ।
यसभित्र धेरै कुराहरु पर्छ । जनताले चाहे अनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । जनप्रतिनिधिले एउटा प्लानिङ गराएको हुन्छ, त्यो प्लानिङ भित्र जुन परिकल्पना छ त्यसलाइ पूरा गर्न योजना बनाउने र एकवद्ध भई लाग्ने कार्यमा हामी एक छौँ । तरपनि यसले पूर्णता पाएको छैन । यो परिकल्पनालाई पूरा गर्न पाँच वर्षले आधार अर्थात् जग भने हालेको छ ।
यही जगलाई उठाएर यस्तो बनाउने लक्ष्य हो की इच्छाकामनाका सवै नागरिक आफै सक्षम भएर सवै कुराले परिपूर्ण र भरिपूर्ण ठाउँ हो भन्ने जनमानसमा स्थापित भओस्। नाराले मात्रै होइन वास्तविक कामले त्यो देखाउन चाहान्छाँै । रुपान्तरणको सपना देखेका छौँ । यसैलाइ पूरा गर्न अझै समय चाहिन्छ । निरन्तरता दिएर काम गर्नुपर्छ भन्नेनै भएर दोहोरिने भनेको हुँ ।

अन्त्यमा अव पार्टीले टिकट दिने समय आयो । तपाईको विचारमा के कसरी मूल्याङ्कन गरी टिकट वितरण हुनुपर्छ ? तपाई महिला पनि । कसरी यहाँले गरेका कार्यहरु पार्टीले लिने ? टिकट पाउने तपाईको सम्भावना कति छ ?
हेर्नुस् म महिलालाई मात्रै भनेर भन्दिन । चाहे महिला पुरुष वा अन्य । पाँच वर्षमा जनप्रतिनिधिहरुले काम गर्नुभएको छ । यदि गर्नुभएको छ भने कसले कति गर्नुभयो त? कसले जनताको साँच्चिकै आवश्यकता पहिचान गरेर काम गर्नुभयो त ? कामको आधारमा पनि एकदमै महत्व दिएर हेर्नुपर्छ ।
किनकी हामीलाई पार्टीले टिकट दिएको हो । टिकट पाएको व्यक्तिले विकास र परिवर्तन गर्यो है भन्ने त पार्टीले देख्नुपर्यो । त्यसैले काम त महत्वपूर्ण सूचक हो नै । विकास मात्रै होइन सुशासन, भ्रष्टचारमुक्त आफ्नो स्थानीय तह लगायत गर्न सक्यो कि सकेन त ? आफ्नो जिम्मेवारी बहन गर्न सक्यो कि सकेन, प्राप्त अधिकारलाई जनतामाझ लैजान कति कानुन बनाय त लगायत हर्नुपर्यो । मेरो पार्टी मात्र होइन अन्य पार्टीले पनि त्यो हेर्नुपर्छ र मूल्याङ्कन गर्नुपर्छ भन्ने लाग्छ ।
अर्को पक्ष भनेको टिकट दिएर पनि उसले सफल गर्न सक्यो कि सकेन त ? आफ्नो कार्यकाललाई विवादरहित सुशासन सहित संचालन गर्न सक्यो कि सकेन? जनताले देखेका सपना पूरा गर्न सक्यो कि सकेन ? यी कुराहरुलाई पनि मध्यनजर गरेर उम्मेदवार चयन गर्नुपर्छ । कोही व्यक्तिको, नेताको आसेपासे भएर झोला बोकेर मलाई टिकट दिनुपर्छ भन्दै माग्दै हिँड्नेलाइ भन्दा त्यो भूगोल र भूमिले,जनताले असाध्यै नजिकबाट चिनेर यो व्यक्तिको चाहिँ आवश्यकता छ है भन्ने खालको वातावरण भएको मान्छेलाई टिकट दिनुपर्छ ।
मेरो हकमा इच्छाकामनाको विकटता हटाएर निकटतामा ल्यायौँ, सुशसान भ्रष्टचारमुक्त गाउँपालिका बनाउन सफल भयौँ । आजको दिनसम्म पनि मानिसहरु टिकटका लागि नेताहरुकहाँ पुग्या होलान् दौड्याहोलान्, आश्वासन दिने नेतालाई पुज्दै हिँड्याहोलान् अन्य के के गर्या होलान तर म मेरो नागरिकलाई पुज्ने हो । जनप्रतिनिका लागि सवैभन्दा देवता भनेको नै नागरिक हो मेरो जनता हो ।
मेरो चेपाङ समुदाय हो, गुरुङ समुदाय हो, यहाँका हरेक जाजाती, भाषा धर्म संस्कृति अंगाल्ने इच्छाकामना गाउँपालिकका सवै जनता मेरो देवता भनेपनि भगवान भनेपनि । उनीहरुको म सेवक हो । सेवा गर्नका लागि म हिँडीराछु भने मूल्याङ्कन यसरी हुनुपर्छ र नेताको नजिक बस्नेलाई भन्दा जनताको काम गर्ने मान्छेलाई टिकट दिनुपर्छ ।हिजोका दिनमा जसरी आजको समय जनता अनविज्ञ छैनन् । अहिले व्यक्तिको समेत मूल्याङ्कन गर्न सक्ने जनता भइसकेका छन् । जसका कारण जनताले पनि आफ्नो ठाउँलाई आवश्यक को हो त ? कसलाई अमूल्य मत दिँदा साँच्चै आफ्नो गाउँठाउँको विकास हुन्छ त भन्ने बुझेर मत खसाल्नुपर्छ । सवैभन्दा ठूलो कुरा जनता नै हो । मलाई त्यो लाग्छ ।
समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद
धन्यवाद आफ्नो अनुभव, भएका केही कार्य सहित समसामयिक विषयमा बोल्ने अवसर दिनुभएकोमा ।