चितवन । चितवनको रत्ननगर नगरपालिका २ मा मातृशिशु भवन बन्ने भएको छ । बकुलहर रत्ननगर अस्पताल परिसरमा तीन तलाको सुविधा सम्पन्न भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ ।
शिलान्यासपछि सम्बोधन गर्दै नगरप्रमुख नारायण वनले हेल्थपोष्टलाई प्रदेश मातहतको अस्पताल बनाउन सफल भएको बताउँदै स्वास्थ उपचारका लागि भरतपुर र काठमाडौं जानुपर्ने वाध्यताको अन्त्य भएको बताउनुभयो ।
अब नर्सिङको पढाइ सुरु गर्ने लक्ष्य रहेको बताउँदै मातृशिशु भवन निर्माणपछि थप व्यवस्थित सेवा दिन सहयोग पुग्ने जानकारी दिनुभयो । साथै थेरापी, डायलासीसको सुविधा सुरु भईसकेको भन्दै थप डायलासिसका मेशिन थप्ने उहांको भनाइ थियो ।
उप–प्रमुख विमला दुवाडीले उपचार अभावमा आमा,दिदिबहिनीहरुले समस्या भोग्नुनपर्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलले १४ करोड ५८ लाख ९७ हजार लागत अनुमान गरेपनि आशिष योगेश्वर गृह जेभि काठमाण्डौले ९ करोड ५८ लाख ८६ हजारमै ठेक्का सकारेको जानकारीदिनुभयो ।
चालु आर्थिक वर्षमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले १ करोड ५० लाख र रत्ननगर नगरपालिकाले १ करोड ५० लाख बजेट दिएर काम सुरु गरिने र बहुवर्षिय आयोजनाका रुपमा तीन आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. विश्ववन्धु वगालेले ५० बेडको मातृशिशु भवन संचालनमा आउने र यसले भरतपुर अस्पतालमा सुत्केरी गराउनेको भीडलाई कम गर्नुका साथै पूर्वी चितवनको गुणस्तीय सेवा दिने अस्पताल हुने दावी गर्नुभयो ।
रत्ननगरको मध्य भागमा अवस्थित बकुलहर रत्ननगर अस्पताल २०२४ सालमा स्थास्थ्य चौकीका रुपमा स्थापना भइ त्यस क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेको छ । २०६५ सालमा १५ शैया क्षमताको अस्पतालमा स्तरोन्नती भएर २०७७ सालमा प्रदेश सरकार मातहत व्यवस्थापन हुने गरि ५० शैयाको क्षमतामा स्तरोन्नती भएको छ ।
स्थापनाकाल देखि नै मातृशिशु सम्बन्धि गर्भवती जाँच, खोप सेवा, सामान्य प्रसुती सेवाहरु उपलब्ध गराउँदै आएता पनि अपरेसन सहितको प्रसुती सेवा उपलब्ध नहुँदा अधिकांश सेवाग्राहीको रोजाइमा पर्न सकेको थिएन । तर २०७३ साल फागुन ४ देखि स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध भए सँगै सेवाग्रहीको मन जित्न समेत सफल भइरहेको छ ।
अहिले अपरेशन सहित २४ सै घण्टा प्रसुती सेवा शुरु भए सँगै अस्पतालमा मातृशिशु सेवाले गति लिदै गयो । २०७४ साल मंसिर २० गते अस्पतालको अपरेशन थियटरमा शल्यक्रिया गरि पहिलो पटक बच्चा जन्माइएको थियो ।
सेवाग्राही बढ्दैजादा अस्तपतालमा मातृशिशु सम्बन्धी सम्पूर्ण सेवाहरु छुट्टै ब्लक बाट उपलब्ध गराउन अस्पताल परिसरमा भवनका लागि आज शिलान्यस गरिएको हो ।