चितवन । ऋणनै तिर्न नसकेर ठप्प भएको गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशाला चाँडै निर्माण हुने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभएको छ । नारायणी एडभटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा सोही रंगशालाको नमुना खेल मैदानमा सुरु भएको भरतपुर मेयर कप २०७८ को उद्घाटन गर्दै उहाँले अलपत्र अवस्थामा परेको रंगशालालाई महानगरले अपनत्व लिएर काम गरिरहेको जानकारी दिनुभयो ।
अन्य सवै कुरा सामान्य रहेपनि बाँकी रहेको ऋण कसले तिर्ने भन्ने कुरामा अड्कीरहेको उहाँको भनाई थियो । त्यही गाँठो फुकाउने एउटा समिति गठन गरेर काम भइरहेको र चाँडै निर्माण सुरु भएको खुसीको खबर सुन्न पाइने उहाँको दावी थियो ।
ठूलो परियोजना भएकाले महानगरपालिकाको मात्रै बजेटले नभ्याउने भन्दै संघीय सरकारलाई दुई महिना अघिनै फाइल पठाएको बताउनुभयो । संघीय सरकार खेलकुद मन्त्रालयले पनि महानगरको प्रस्तावलाई आधार मानेर एउटा समिति बनाएको र समितिले अध्ययन गरिरहेको बताउनुभयो । त्यसपछि मन्त्रीपरिषदमा लगेर पास भएपछि काम सुरु हुने उहाँको भनाई थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै दाहालले क्रिक्रेटमा भरतपुरले राम्रो प्रगति गरेको बताउनुभयो । आयोजक संस्थाका संचालक राजु चौधरीका अनुसार प्रतियोगितामा तीन वटा टिम चितवन,नवलपुर र मकवानपुरले सहभागीता जनाएका छन् ।
लिग चरणमा हुने खेलको उद्घाटनमा चितवन र नवलपुरवीच प्रतिस्पर्धा भएको थियो । सवैले एकअर्कावीच प्रतिस्पर्धा गरेर जसको धेरै अंक आउँछ ती दुई टिमवीच आगामी १७ गते फाइनल हुने चौधरीको भनाई छ । चितवनमै पहिलो पटक तीन दिवसीय टुर्नामेन्ट सकाएर प्रतियोगिता गरिएको चौधरीले बताउनुभयो ।