चितवन। चितवनका कैदीबन्दीको आज निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको आयोजनामा ४४ औँ नेत्रज्योती दिवसको अवसरमा कारागार परिसरमै सो शिविर सम्पन्न भएको हो ।
भरतपुर आँखा अस्पताल आँखा बैँकको संयोजक छायाँ श्रेष्ठका अनुसार २९६ पुरुष र २० महिला कैदीबन्दीले सेवा लिएका छन् । त्यसमध्ये पाँच जनालाई मोतियाविन्दुको अपरेशनका लागि सिफारिस गरेको श्रेष्ठको भनाई छ ।
आँखामा मासु बढेको समस्याका २ जना, चस्मा लगाउनलाई आँखा जाँचका लागि ६५ जनालाई सिफारिस गरिएको छ । यसरी सिफारिस गरिएका उनीहरुको निःशुल्क जाँच र अपरेशन हुने श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,“प्रत्येक वर्षजस्तै हामीले ८, ९ जनालाई मोतियाविन्दुको अपरेशन सेवा निशुल्क दिइरहेका छौँ । ”
साथै आँखा परीक्षणपछि निःशुल्क औषधि समेत वितरण गरिएको थियो । जेलमा भएपनि मानवअधिकारको सुनिश्चितताका लागि आफूहरुले वर्षैपिच्छे विगत २० वर्षदेखि यसरी आँखा परीक्षण सेवा दिँदै आएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“सवैले जाँच गराउन पाउँदा समस्या थाहा हुनेभयो । आँखा जस्तो संवेदनशील अंगमा हुने ससाना समस्या चाँडै पत्ता नलाग्न सक्छ तर यसरी गरिने शिविरले ठूलो सहयोग मिलेको छ । ”
जेलर कमलप्रसाद काफ्लेका अनुसार ठूलै समस्या भएमा अस्पताल लैजाने गरेपनि सामूहिक जाँचबाट उनीहरुले राम्रो स्वास्थ्य सेवा र परामर्श पाएको बताउनुभयो ।
चितवन कारागारको क्षमता २० जना महिला र २५५ जना पुरुष भएपनि अहिले महिला, पुरुष र आश्रित वालवालिका सहित ७३८ जना रहेको काफ्लेले जानकारी दिनुभयो। जसमा ५४ जना महिला, २ जना आश्रित बालिका र बाँकी पुरुष रहेका छन् ।