गैँडाकोट । सातौँ कृषि गणना २०७८ को तयारी नवलपुरमा पनि तीव्र पारिएको छ । जिल्ला कृषि गणना अधिकृत रेणु कुमारी घिमिरेका अनुसार चैत्र १ गतेनै जिल्लामा कार्यालय स्थापना गरेर तयारी सुरु भएको थियो ।
विस २०१८ सालदेखि सुरु भएर हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको भने यो पहिलो गणना रहेको घिमिरेले बताउनुभयो । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित आगामी बैशाख ६ देखि जेठ १९ गतेसम्म जिल्लाका १५५ गणना क्षेत्रमा संघीयतापछिको पहिलो कृषि गणना गरिदैछ ।
तथ्याङ्क कार्यालय चितवनमा कार्यरत घिमिरेलाई नवलपुरको कृषि गणना गर्न जिम्मा दिएपछि अहिले स्थानीय तहमा पुगेर सहजीकरण समितिको बैठक गरिरहनुभएको छ । घिमिरेका अनुसार चैत १ देखि २०७९ जेठ मसान्त सम्म कायम हुनेगरी केन्द्रीय तथ्याङ्क विभागको निर्धारित कार्यतालिका अनुसार कार्यालय स्थापना गरिएको हो । जिल्ला कृषि गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा कावासोतीमा बसेको बैठकमा कार्यालय स्थापना गर्ने निर्णय भएको थियो ।
घिमिरेका अनुसार नवलपुरमा तथ्याङ्क विभागलेनै वैज्ञानिक विधिबाट छनौट गरेर १५५ वटा गणना क्षेत्र तोकिदिएको छ । एउटा गणकले ३ वटा गणनाक्षेत्र हेर्नुपर्छ भने एक जना सुपरीवेक्षकले ४ जना गणकको कार्यलाई सुपरीवेक्षण गर्नुपर्नेछ । नवलपुरमा १४ जना सुपरीवेक्षक र ५५ जना गणक खटिनेछन् । यसका लागि करारका जनशक्ति खटाइनेछ ।
जनशक्तिका लागि अनलाइन फर्म भरेकामध्येबाट विभागले छनौटमा परेकाहरुको सूची सार्वजनिक गरी जिल्लामा पठाउने र र्याङकीङका आधारमा कर्मचारी छनौट हुने बताउनुभया । त्यस्तै कार्यालयका लागि केही कर्मचारी आवश्यक पर्ने भएपनि अभावले त्यो पूरा नभएको उहाँको भनाई छ । जिल्ला प्रशासनसँग समन्वय गरेर कृषि गणना कार्यालयका लागि सरकारी कर्मचारी माग भइरहेको उहाँको भनाई छ ।
स्थानीय तहमा उप–मेयर वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय तह कृषि गणना सहजीकरण समिति हुनेछ भने प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति हुनेछ । अहिले कार्यालयले स्थानीय तहमा गएर बैठक राख्ने र गणनाको बारेमा जानकारी दिने गरेको छ ।
चैत ९ गते गैँडाकोट नगरपालिकामा उपप्रमुख विष्णु कुमारी कडेँल, चैत १० गते मध्यविन्दु नगरपालिकामा उपप्रमुख ओम कुमारी महतो र विनय त्रिवेणी गाउँपालिकामा उपाध्यक्ष मिना कुमारी राना मगरको अध्यक्षतामा स्थानीय तह कृषि गणना सहजीकरण समितिको बैठक सम्पन्न भइसकेको छ । आफूहरुकै नेतृत्वमा जनगणना र कृषि गणना हुनु सुखद र स्मरणीय भएको भन्दै सही तथ्याङ्क संकलनमा पूर्ण सहयोग रहने उहाँहरुको भनाई छ ।
कार्यालयले छिट्टै जिल्ला स्तरीय सचेतना गोष्ठी गर्ने तयारी गरेको छ । जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा अभिमुखिकरण गरिनेछ घिमिरेको भनाई छ ।यही चैत १४ गते जिल्लास्तरीय सचेतना गोष्ठीको आयोजना गरिएको उहाँको भनाई छ । जिल्ला स्तरमा गणक तथा सुपरीवेक्षकको तालिम यही चैत्र २५ देखि २०७९ वैशाख २ गतेसम्म संचालन गरिनेछ भने सुपरीवेक्षकका लागि थप १ दिन अर्थात् वैशाख ३ गतेसम्म तालिम संचालन गरेर वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म उनीहरुले फिल्डमा गणना गर्नेछन् ।
फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भनुपर्ने छ । लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
पहिलेका कृषि गणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनौट विधिमा आधारित रहेको छ । यस गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग, उपयोग, वालीले ओगेटेका जग्गाको क्षेत्रफल तथा उत्पादन, कृषि सामाग्री सिँचाइको विवरण,कृषि कार्यमा संलग्न जनशक्ति, कृषि वन, कृषि ऋण, पशुपंक्षिको संख्या र तिनीहरुको आहार विवरण, कृषक परिवारको सदस्यको नाममा रहेको कृषि जग्गाको अवस्था,हरित गृह पद्धतीको प्रयोग, बीमा, अनुदान कृषि बजारसम्मको पहुँच, जलवायु पवितर्ननको असर माटो परीक्षण, फोहोर मैलाको व्यवस्थापन जस्ता विविध विषयहरुको तथ्याङ्क संकलन गरिन्छ । संकलनपछि स्थानीय तहसम्मको नतिजा सार्वजनिक गरिनेछ ।
यो गणनाका लागि सन्दर्भ वर्ष र सन्दर्भ दिन गरी दुई प्रकारको सन्दर्भ अवधि मानिएको छ । जसमा २०७७ पुष १७ देखि २०७८ पुष १६ गरी १२ महिनाको मात्रै तथ्याङ्क संकलन गरिनेछ भने गणना गरिएको दिनलाई सन्दर्भ दिन तोकिएको छ ।
कृषि विकासका लागि स्थानीय जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको योजना तर्जुमा तथा नीति निर्माण, अनुगमन, मूल्याङ्कन गर्न हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ ।