चितवन । चितवनमा आज जिल्लास्तरीय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डरीले सातौँ कृषि गणनाबारे जानकारी गराउनुभएको थियो । भण्डारीका अनुसार नेपालमै चितवनले पहिलो सचेतना गोष्ठी सम्पन्न गरेको हो । गत चैत १ गते हालको तथ्याङ्क कार्यालय रहेकै भवनमा जिल्ला कृषि गणना कार्यालय स्थापना गरी गणनाको तयारी तीव्र पारिएको हो ।
जिल्ला कृषि गणना समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डल्लाकोटीले मिथ्याङ्क आउनसक्नेतर्फ सचेत भएर काम गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै भण्डारीले विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिदै आएको बताउनुभयो । संघीयतापछिको यो पहिलो गणना भएकाले सवैको सहयोग आवश्यक भएको भन्दै कार्यालयबाट तयारी तीव्र बनाएको जानकारी दिनुभयो। कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित संघीयतापछिको पहिलो कृषि गणना भएको बताउनुभयो ।
चितवन जिल्लामा हालसम्म प्राप्त दरवन्दी अनुसार १६ जना सुपरीवेक्षक र ६४ जना गणक गरी कुल ८० जना करारका जनशक्ति फिल्डमा खटिनेछन् ।
केन्द्रीय तथ्याक विभागले वैज्ञानिक विधिबाट छनौट गरे अनुसार चितवनमा १७९ वटा गणना क्षेत्र कायम गरिएको छ । एउटा गणकले ३ वटा गणनाक्षेत्र हेर्नुपर्छ भने एक जना सुपरीवेक्षकले ४ जना गणकको कार्यलाई सुपरीवेक्षण गर्नुपर्नेछ ।
जिल्ला स्तरमा गणक तथा सुपरीवेक्षकको तालिम यही चैत्र २५ देखि २०७९ वैशाख २ गतेसम्म संचालन गरिनेछ भने सुपरीवेक्षकका लागि थप १ दिन अर्थात् वैशाख ३ गतेसम्म तालिम संचालन गरेर वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म उनीहरुले फिल्डमा खटाइनेछ ।
फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भनुपर्ने छ । लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनुभयो।
पहिलेका कृषि गणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनौट विधिमा आधारित रहेको भण्डारीको भनाई छ । यस गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग, उपयोग, वालीले ओगेटेका जग्गाको क्षेत्रफल तथा उत्पादन, कृषि सामाग्री सिँचाइको विवरण,कृषि कार्यमा संलग्न जनशक्ति, कृषि वन, कृषि ऋण, पशुपंक्षिको संख्या र तिनीहरुको आहार विवरण, कृषक परिवारको सदस्यको नाममा रहेको कृषि जग्गाको अवस्था,हरित गृह पद्धतीको प्रयोग, बीमा, अनुदान कृषि बजारसम्मको पहुँच, जलवायु पवितर्ननको असर माटो परीक्षण, फोहोर मैलाको व्यवस्थापन जस्ता विविध विषयहरुको तथ्याङ्क संकलन गरिन्छ । संकलनपछि स्थानीय तहसम्मको नतिजा सार्वजनिक गरिनेछ ।
भण्डारीका अनुसार सन्दर्भ वर्ष र सन्दर्भ दिन गरी दुई प्रकारको सन्दर्भ अवधि मानिएको छ । जसमा २०७७ पुष १७ देखि २०७८ पुष १६ गरी १२ महिनाको मात्रै तथ्याङ्क संकलन गरिनेछ भने गणना गरिएको दिनलाई सन्दर्भ दिन तोकिएको छ ।
त्यसरी प्रश्नावली भर्नका लागि सहजीकरण गर्न जिल्ला देखि वडा तहसम्म संरचना बनाइएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि गणना समन्वय समिति छ जसमा जिल्ला कृषि गणना अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।
स्थानीय तहमा उप–मेयर वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय सहजीकरण समिति हुनेछ भने प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति हुनेछ ।