चितवन । नेपाल कृषि मेसिनरी व्यवसाय संघ र सरकारी निकायहरुको संयुक्त आयोजनामा आजदेखि चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ सुरु भएको छ । चैत १२ गतेसम्म चल्ने प्रदर्शनीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले कृषिप्रधान देशमा धान, चामल आयात गर्नुपर्ने अवस्था हुनु दुखद भएको भन्दै मन्त्रालयले कृषिजन्य वस्तुहरु स्वदेशमै उत्पादन गर्नसक्नेगरी कार्यक्रम बनाएको जानकराी दिनुभयो । प्रदर्शनीमा हुने बहसबाट आएका सुझावहरु दिन आग्रह सहित कृषि क्षेत्रका समस्या समाधानमा लाग्ने बताउनुभयो ।
संघका अध्यक्ष खोजराज कटवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रम समापन गर्दै अध्यक्ष कटवालले कृषिमा विनियोजित बजेटमा ३ प्रतिशतमात्रै पनि प्रविधि तथा यान्त्रीकरणमा लगानी गरे नेपालका लागि आवश्यक प्रविधि यही उत्पादन हुने बताउनुभयो । नेपाली किसान र यहाँको माटोलाई सुहाउने प्रविधि विकास गर्न नेपाली व्यवसायी सक्षम रहेको भन्दै सचिव पाँच वर्ष कार्यकालमा रहेकाले धेरैनै परिवर्तन हुने आशा राख्नुभयो ।
आज नै प्रदर्शनी स्थलमा कृषि कर्जा मेला समेत सुरु भएको छ। मेलाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले बैँकहरुले १५ प्रतिशतसम्म ऋण कृषिमा लगानी गर्नुपर्ने नियम ल्याउन लागेको जानकारी दिनुभयो । कृषिप्रधान देश भन्ने तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर परेको भन्दै यसलाई सुधार्नुपर्ने बताउनुभयो । किसानले सहजै ऋण पाउनेगरी अहिले वैँकहरुले दिइरहेको ११ प्रतिशत कृषि कर्जा बढाएर १५ पुर्याइने उहाँको भनाई थियो । कुनै समय जोखिम कर्जा मान्ने कृषि अहिले मुख्य कर्जाको रुपमा वैँकहरुमा आउनु सुखद भएको र अझै सुधार गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा १२ बैँक तथा वित्तीय संस्थाका सीइओहरुको उपस्थिती थियो । उनीहरुले कृषि कर्जा नपाएकै कारण उत्पादन कम भएको भन्ने भ्रममा नपर्न आग्रह गर्दै किसानलाई समयमै मल,बीउ उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । साथै उत्पादीत वस्तुले बजार नपाउने, कृषि प्राविधिकको परामर्श अभाव आदितर्फ पनि ध्यान दिन आग्रह गर्दै किसानलाई ऋण दिन कुनै कठिन नभएको भनाइ राखेका थिए ।
कार्यक्रम कृषि कर्जा मेला संयोजक सुनीता नमाफुकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
साथै प्रदर्शनी स्थलमा मेड इन नेपाल प्याभिलियन समेत रहेको छ । यहाँ नेपालमै उत्पादन हुनेगरेका कृषि प्रविधि हेर्न र खरिद गर्न सकिनेछ ।
१५० बढी प्रदर्शनीकर्ता रहने यहाँ २० भन्दा बढी मुलुकका कृषियन्त्र उत्पादनकर्ता सहभागी रहेको महासचिव कृष्ण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २ हजार बढी कृषि उपकरण हेर्न सकिने र १ लाख बढीले अवलोकन गर्नेछन् ।
आजदेखिनै कृषकहरु अवलोकनका लागि आउन सुरु भएको उहाँको भनाई छ । साना किसानदेखि ठूला किसानका लागि आवश्यक मेसिन उपकरण प्रदर्शनीमा प्राप्त छ । करिव २० करोडको कारोवार गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।