चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भत्कीएको घर बनाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले काँग्रेसलाई १३ सीटमा सीमित गर्ने ओलीको अभिव्यक्ति कार्यकर्तालाई उत्तेजीत गर्न र आफूलाई आनन्द महसुस गर्न मात्रै बोल्नुभएको बताउनुभयो । शर्माले भन्नुभयो,“केपी ओलीलाई एकछिनको आनन्दका लागि भन्नुभयो । अन्यथा हिजोको चुनावका सारथी माधव नेपाल,झलनाथ खनाल , प्रचण्ड कहाँ हुनुहुन्छ अहिले ? आफ्नो घर भत्कीएर विजोग छ । अन्य पार्टीलाई खसाल्न भन्दा भत्कीएको घर सह्माल्न आग्रह गर्छु।”
साथै शर्माले गएको भन्दा अहिलेको चुनावमा देशव्यापी काँग्रेसको मुभमेन्ट बढेको बताउनुभयो । शर्माले भन्नुभयो,“गएको चुनावमा काँग्रेस असहज अवस्थामा थियो । एक्लै लडेको हो तर अहिले एमाले छिन्नभिन्न छ । हामी ठूलो पार्टी हुनेगरी तयारी गरिरहेका छौँ ।” नेकपा एमालेलाई वस्तुगत तथ्य हेरेर टिप्पणी गर्न उहाँको सुझाव थियो ।
काँग्रेस देशभरीनै चुनावका लागि स्थानीय तहसम्म पुग्ने मात्रै पार्टी नभई कोभिड महामारी देखि प्राकृतिक विपद लगायत सवै समय उत्तिकै सक्रिय भई जनताको सेवा गरेको बताउँदै चुनावमा केही बढी जागरुक हुनु स्वभाविक भएको बताउनुभयो ।
साथै संसद चल्न प्रतिपक्षले नदिएको बताउँदै जनताको म्यान्डेटकै अपमान एमालेले गरिरहेको टिप्पणी गर्नुभयो । संसद चलाउन काँग्रेस असफल भएको हो भन्ने प्रश्नमा शर्माले संसद विघटन हुनवाट जोगाएको भन्दै सरकारमात्रै सवै कुरा नभएको बताउनुभयो । सरकारले संसद चलाउन भूमिका खेलेको तर प्रतिपक्षलेनै संसद चल्नै नदिने वाचा,कसम, किरिया नै खाएपछि निरन्तर अवरुद्ध भइरहेको बताउनुभयो । तर पनि सरकारले जनताको सुरक्षा ,सेवामा अवरोध हुन नदिएको उहाँको भनाई थियो ।
शर्माले भन्नुभयो,“ओलीलाई मात्रै जनताले निर्वाचित गरेको होइन । अन्य सांसदलाई पनि हो तर उहाँकै हठले संसद अवरुद्ध भइरहेको छ । जनताले दिएको म्यान्डेड सरकार चलाउने थियो त्यो पनि चलाउनुभएन अहिले संसद पनि चलाउन दिनुभएको छैन । ”
देशलाई ट्रयाकमा ल्याउन काँग्रेसले प्रयास गरिरहेको भन्दै अवको चुनावमा जनताको मतले कुन ठूलो कुन सानो पार्टी भनेर फैसला गर्ने बताउनुभयो ।
साथै आगामी बस्ने केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा गठवन्धन गर्ने नगर्ने टुंगो लगाउने बताउनुभएको छ । शर्माले चैत ११ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ आउने रायका आधारमा निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो,“देशभरबाट अध्ययन गरेर आउनुभएका साथीहरुसँग भेट हुन्छ । स्थानीय तहमा साथीहरुको भावना पनि बुझ्ने अवसर पाइन्छ । त्यसपछि निर्णय हुन्छ । ”
केन्द्रीय कार्यसमितिको बैठकमा विगतका निर्वाचनमा भएका कमजोरी, सफलता, त्यसबाट भएको सिकाई लगायतमा पनि गहन छलफल हुने उहाँको भनाई छ ।