चितवन । नेपाल चेपाङ संघको पाचाँै राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले चेपाङ सहितका सिमान्तकृत जातीहरुको सुविधाका लागि एकीकृत बस्ती तथा आवास कार्यक्रम ल्याउने बताउनुभयो ।
योजना आएपछि कुनै एउटा निश्चित क्षेत्रमा घरहरु बनाएर बसोवास गराइने जानकारी दिनुभयो । जनता आवास कार्यक्रम जस्तै बनाएर प्रदेश प्रमुखले घोषणा गर्नेगरी तयारी भइरहेको उहाँको भनाई छ । डाँडापाखा पखेरमा बसोवास गर्दा चेपाङरुको दैनिकी असहज भएको उहाँको भनाई थियो । साथै राजनीतिमा चेपाङहरुको पहूँच बढाउन आग्रह गर्दै अवको स्थानीय निर्वाचनमा धेरै उम्मेदवार बनेर जित हासिल गर्न आग्रह गर्नुभयो ।
महाधिवेशनमा बोल्दै चेपाङहरुले सरकारले आफूहरुलाई सुकुम्वासी बनाएको बताए । व्यस्थित बसोवासको सपना दिएर अहिलेसम्म लालपूर्जा नदिएको भन्दै आफूहरुको शैक्षिक, सामाजिक, राजनीतिक चेतना बढाउन राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथिलाई चिउरीको मह र झोला समेत प्रदान गर्दै उत्पादीत वस्तुहरुको बजारीकरणमा सहयोग गरिदिन आग्रह गरिएको थियो ।
सो अवसरमा इतिहासमै पहिलो पटक बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्न सफल सन्तराम चेपाङलाई सम्मान गरिएको थियो भने चेपाङबाट स्नातोकत्तर गरेका अजयकुमार प्रजाले लेख्नुभएको ‘चेपाङ समुदाय’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।
महाधिवेशनले सात पदाधिकारीसहित ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा २५७ जना प्रतिनिधि सहभागी छन् । देशको चितवन, मकवानपुर धादिङमा बढी बस्ती रहेको चेपाङहरु २६ जिल्लामा छरिएर बसेका छन् ।
जितेन्द्र तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङले स्वागत मन्तव्य राख्नुभएको थियो । चेपाङ भाषमा गीत गाउँदै स्वागत गर्नुभएको उहाँले चेपाङहरु अव सचेत भएको र आफ्नो अधिकार खोज्न सक्ने भएकाले राज्यबाट विभेद नगर्न आग्रह गर्नुभयो । चेपाङ महिलाहरु समेत परिवर्तन हुँदै गएको र शिक्षा,स्वास्थ्य,सामाजिक चेतना तथा राजनीतिमा विशेष स्थान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति आयोग अध्यक्ष राम बहादुर थापा, बागमती प्रदेशका सदस्य तथा पूर्व कृषि मन्त्री दावा दोर्जे लामा,संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश नीति आयोग उपाध्यक्ष डा. कृष्ण पन्त लगायतको सहभागीता रहेको थियो ।