चितवन । एक छोरा, एक छोरी र श्रीमती सहित उनको सानो परिवार खुसी साथ जीवन विताइरहेका थिए । तनहुँको ऋषिङ गाउँपालिका ४ थप्रेकमा जन्मिएर हाल भरतपुर ८ गौरीगञ्ज बस्दै आएका २९ बर्षीय रानाभाट छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएर उज्जवल भविष्य बनाइदिन नेपालमा कमाई नभएपछि विदेशीन वाध्य भए ।
मलेसीया गएका उनले जेनतेन आम्दानी गरेर छोराछोरी पढाउँदै परिवार पाल्दै आएका थिए । परिवारको सवै जिम्मेवारी वहन गर्ने उनलाई अहिले घातक रोग क्यान्सर लागेर उपचाररत छन् । घरको मूलीलाई नै क्यान्सर भएपछि अहिले उनको परिवारनै चिन्तित्सँगै समस्यामा छ । उनी भन्छन्,“ न कुनै हाम्रो परिवार र खानदानमा यो रोग लागेको छ । न पहिला कुनै लक्षण थियो । एक्कासी घाँटीमा समस्या आयो । जचाउँदा क्यान्सर देखियो ।”
घाँटीमा समस्या आएपछि केही महिना उनले मलेसियामै उपचार गरे । तर निको हुने अवस्था नभएपछि परिवारका अन्य सदस्यले रकम पठाएर टिकट काटी स्वदेश फर्कन वाध्य भए । स्वदेश फर्कीएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा जाँच गराउँदा घाँटीमा क्यान्सर देखिएको उनी बताउँछन् ।
अस्पतालको बेडमा किमो चढाउँदै बसीरहेका उनी अहिले आर्थिक अभाले उपचार गराउनै नपाउने हो की भन्ने चिन्तामा छन् । विदेशबाट फर्कदापनि मलेसियामै उपचारमा रकम सकिएपछि ऋण गरी पहिलो पटकको उपचार गराए । साथमा भएको रकम, छिमेकी, आफन्तहरु, नजिकका टोल विकासले संकलन गरेको सहयोग रकम समेत सकिएपछि उनले आम नेपाली दाजुभाइ दिदिवहिनीहरुलाई आर्थिक सहयोग गरिदिन अहिले अपील गरिरहेका छन् ।
अहिले दोस्रो पटकमा किमो चढाउने कार्य सोही अस्पतालमा जारी छ । तर आर्थिक अभाव हुँदा उनले सहयोगको अपील गरेका हुन् । उनले भने,“६ वटा किमो चढाउनुपर्नेछ । पहिलो किमो चढाएर सकियो । एक पटक किमो चढाउँदा ४० हजार र औषधि, अस्पतालको बसाई आदिले करिव १ लाख ५० हजार बढी खर्च आउँछ । म सँगै त्यति खर्च जुटाउने कुनै माध्यम नै छैन । मलाई बचाइदिनुहोस् । म मेरा लागि मात्रै नभई परिवारकालागि पनि बाच्नुपर्नेछ । ”
उनका अनुसार एक महिनामा एउटा किमो लगाउनुपर्ने र अस्पतालमै बस्नुपर्ने भएकाले खर्च झन् बढ्दो छ । किमो चढाउँदा रगत आवश्यक परे खर्च बढ्दै जाने बताउँदै उनले बैँक मार्फत तथा फोन गरेर सहयोग गर्न सकिने बताए ।
अस्पतालको बेडबाटै उनले याचना गरे,“थोरै थोरै भएपनि सवैले सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । म बाँच्न चाहान्छु । निको भएर छोराछोरीको उज्जवल भविष्य बनाउनु छ साथै परिवारलाई पुन खुसी दिनुछ । सवै बाटो सकिएपछि अन्त्यमा आम नेपालीसँग सहयोग मागेको हुँ । ”
घाँटीमा लागेको क्यान्सरलाई किमो दिएर सुकाउने चिकित्सकहरुले बताएका छन् । यो पटकको किमो सक्किएपछि कम्तिमा १५ वर्ष काम गर्ने चिकित्सकको भनाई छ । चाँडै निको हुन भारत जान अनुरोध गरेपनि आर्थिक अवस्था कमजोर भएपछि उनले भरतपुरमै उपचार गराइरहेका छन् ।
“सवैले थोरै थोरै सहयोग दिएपनि मैले सजिलोगरी उपचार गराउन पाउनेछु र म बाँच्नेछु”, अहिले करिव ८ लाख जति उपचारमा सक्किएको छ । भारत जान अस्पतालले समेत सुझाव दिँदा सहयोग भएमा चाँडै भारत गई उपचार गराई निको हुने थिएँ । अझै कति खर्च लाग्ने कुनै टुंगो छैन ।” खाडीमा पसीना बगाएको सम्झदै उनले विदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदिवहिनीहरुसँग अझबढी सहयोगको अपेक्षा राखेको बताए ।
घाँटीको दायाँतर्फ देखिएको क्यान्सर रोग पहिलो स्टेजमा रहेकाले प्रभावकारी उपचार गराउनसके निको हुने उनको विश्वास छ ।
उनलाई सहयोग गर्न चाहानुहुनेहरुले उनको फोन नम्वर ९८२१२२४७३८, ९८१५२३०१६५ मा सम्पर्क गर्न सक्नुहुनेछ भने उनको नाउँमा लुम्बिनी विकास बैँकमा रहेको खातामा रकम पठाइदिन सक्नुहुने रानाभाटले बताए । लुम्बिनी वैँकमा खातावालाको नाम गुञ्जा रानाभाट र खाता नम्वर ००९१३०२०२०३२८५०००००१ मा रकम जम्मा गरिदिन उनको अपील छ ।