देवघाट । चर्चित धार्मिक पर्यटकीय स्थल देवघाटमा बनाउने भनिएको त्रिकोणात्मक पुल निर्माण कुरामै सीमित भएको छ । वर्षौँदेखि पुल निर्माण गर्ने विषय उठान भएपनि अझैसम्म कुनै काम भएको छैन ।
यद्यपी सोमवार सम्पन्न देवघाट क्षेत्र विकास समितिको पूर्ण बैठकले तीन जिल्ला जोड्नेगरी पुल निर्माण गर्न लागिएको बताएको छ ।
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारि निर्देशक धिरण बाबू घिमिरेले बताए।
त्रिकोणात्मक निकै आकर्षक ढंगबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने उनको भनाई थियो । चितवन र तनहुँ जोड्ने त्रिशूली माथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा पनि लिइएको छ ।
त्रिकोणात्मक पुल निर्माण सम्पन्न भए नवलपुरको मौलाकालि मन्दिरसम्म जानका लागि मौलाकालिका–वेनि धार्मिक पर्यटकीय पदमार्ग हुँदै थप घुम्न सकिने छ । पदमार्गको निर्माण काम भइरहेको घिमिरेले बताए । वेनिबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर पैदल यात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ ।
पर्यटकीय प्रचारको लागी वेनि सगंममा थ्रीडि मेटल राखिएको छ। सामाजिक संजालमा राखिने फोटोले पनि प्रचारमा सहयोग पुगेको बताए ।
बोर्ड बैठकमा गत आर्थिक वर्षको प्रगति, चालू आर्थिक वर्षको कार्य समिक्षा, आउदो आर्थिक वर्षको कार्ययोजना र वर्तमान समस्याहरुको छलफल भएको थियो।



