चितवन । यतिवेला उद्योग वाणिज्य संघ चितवनमा अधिवेशनको सरगर्मी बढ्दो छ । ५५ औँ वार्षिक साधारण सभा सकिएको छ भने अधिवेशनको प्रकृया जारी छन् । सर्वसम्मत नभएका पदहरुमा आफूलाई निर्वाचित गराउन उमेदवारहरुले मत मागिरहेका छन् । सोही मध्येका एक हुन वाणिज्यतर्फ उपाध्यक्षका उम्मेदवार सिरिष पन्त । उनी उपाध्यक्षका बलिया उम्मेदवार हुन् । उपाध्यक्ष लगायत सर्वसम्मत नभएका पदहरुमा भोलि चुनाव हुँदैछ ।
सिरिष पन्त युवा उद्यमी हुन् । झण्डै विदेश पलायन भएका उनी चितवनमा स्थापित व्यवसायीको रुपमा परिचित हुँदै उद्योग वाणिज्य संघको सदस्य सहित विभिन्न उपसमिति संयोजक तथा अन्य भूमिकामा रहेर आफ्नो क्षमता प्रष्ट्याइसकेका छन् ।
झण्डै दुई दशक अघि उच्च शिक्षा हासिल गरेपछि उनीसँग दुई विकल्प थिए । पहिलो पढ्ने वाहानामा विदेश गइ काम गर्ने र पलायन हुने अर्को नेपालमै सेटल हुने । प्रशासनिक पृष्ठभूमिको उनका परिवारले विदेश गएर अध्ययन गर्न सुझाए पनि । उद्योग कलकारखाना, व्यापार व्यसायको पुष्ठभूमि नहुँदा उनलाई पनि परिवारको सुझाव ठिक नलागेको त होइन तर स्वेदशमै केही गर्न सकिन्छ भन्नेमा उनी दृढ रहे । तर परिवारले उनलाई यहाँ गर्न सक्दैनौ भन्नेमै केन्द्रीत रहे । उनले भने,“विदेश जाँदा व्यक्तिगत र परिवारलाई त राम्रै कमाउँथे होला तर यो क्षेत्र र देशलाई चाहिँ के दिन सक्छु त ? भन्नेले बढी सतायो । त्यसपछि परिवारलाई सम्झाएर एक पटक व्यवसाय गर्नलाई मौका मागेँ र असफल भए विदेश जाने दोस्रो विकल्पमा राखेँ ।”
त्यसपछि पन्तले दुई दशक अगाडि निर्माण सामाग्रीको व्यापार व्यवसायबाट यात्रा सुरु गरे । कुनै एउटा युवा सजिलै व्यवसायमा स्थपित हुन सजिलो नभएको उनको अनुभव छ । प्रशासनिक क्षेत्र तथा सरकारबाट कुनै प्रेरणा नभएको भन्दै उनले धेरै कठिनाइका वीच अग्रजहरुको सल्लाहले अहिले उत्सव इन्टरप्राइजेज, उत्सव टे«डर्स,उत्सव सप्लायर्स प्रालि, नेपाल नेशनल पेन्ट्सका मालिक र भरतपुर आरएमसीमा पनि उनले लगानी गरेका छन् ।
कुनै समय झण्डै विदेश पलायन भएको युवाले अहिले करिव २ सय जना प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । यही सफलता सवै युवा तथा नयाँ पुस्तालाई बाँड्दै पुरानो पुस्तासँगको अनुभवलाई लिँदै उद्योग वाणिज्य संघ हाँक्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन्। उनी भन्छन्,“मेरो आँटले २ सय बढीले रोजगारी पाएका छन् । यदी मैले विदेशीएका युवालाई रोकेर मेरो सहयोग र प्रेरणा मिल्यो भने पक्कै धेरै विदेश जानुपदैन । मलाई लाग्छ चितवन र राष्ट्रलाई पनि मैले योगदान दिएको छु ।”
यही व्यवसायको सिप, लगानीसँगै आर्जन गरेको ज्ञान बाँड्दै स्वदेशमै सम्भावना देखाउन चार वर्ष अघि उनी कर्पोरेट सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी दोस्रो कार्यकालमा छन् । यही भोगाइ र अनुभवलाई उपाध्यक्षमा रहेर आफ्नो काम देखाउन उनी चाहान्छन् । सदस्यमा निर्विरोध जिताइदिने अग्रज एवम सवै व्यवसायीहरुलाई उनले यो पटक उपाध्यक्षमा जिताउन अपील गरेका छन् । खाडी र अन्य मुलुक गइरहेका युवाहरुलाई रोक्ने र व्यापार व्यवसायमा प्रेरित गर्न आफू सक्रिय भइ लाग्ने पन्त बताउँछन् ।
कोरोनाको समयपनि उनले स्वास्थ्य समितिको संयोजक भएर काम गरेका थिए । घरबाट बाहिर निस्कन सक्ने अवस्था नहुँदा उनले व्यवसायीहरुका लागि फ्रन्टलाइनर भएका काम गरे । व्यवसायीहरुको वाध्यतालाई बुझेर राहत वितरण,मास्क,सेनिटाइजर वितरण देखि पसल पसलमा स्टीकर टाँस्ने, माडी, मुग्लिनका अस्पतालमा स्वास्थय सामाग्री सहयोग गरे । उनकै पहलमा व्यवसायीहरुका लागि कोरोना वीमा समेत लिएर आए र रोगको समय आर्थिक टेवा पुर्याएको उनको भनाई छ ।
काम गर्ने युवा देखेर अग्रजकै सल्लाहमा आफू उपाध्यक्षमा उम्मेदवारी दिएको पन्तले बताए । आगामी दिनमा उनले अहिले बोर्डहरुमा करको विषय उठान भएकोमा बोर्डको लागत भन्दा कर बढी भएको र यसलाई समाधान गर्नुपर्नेमा उनको जोड छ ।
बजारमा पार्कीङको समस्या अस्तव्यस्त रहेको, बजारबाट झर्नेवित्तिकै यति फोहोर छ की ग्राहक आउन समेत नमान्ने उनी बताउँछन् । यी समस्या समाधानको पहल गर्नपनि आफू उपाध्यक्षमा आउन जरुरी रहेको पन्तले बताए । फोहोर व्यवस्थापन नहुँदा व्यवसायीहरु पनि आक्रान्त भएको उनले बताए । एकतिर करको भारी, त्यसपछि पार्कीङ र फोहोरले आजित भएका व्यवसायीको समस्या समाधानमा आफूले पहल गर्ने पन्तको भनाई छ ।
६ महिनादेखि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकाले भोलि हुने चुनावमा विजयी हुने दावी उनको छ ।



