गैँडाकोट । त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट नवलपुरले आफ्ना शेयर सदस्यहरुलाई अन्तर जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन गराएको छ ।
फागुन २४ गते मंगलवार संस्थाले मकवानपुर हेटौँडाको शहिद स्मारक, सर्लाही बागमतीमा रहेको मानवनिर्मित भरत ताल र चुरीया माइ मन्दिरको अवलोकन गराएको हो । भरत ताल बागमती नदी किनारमा त्यहाँका मेयर भरत थापाको पहलमा बनेको स्थान हो ।
जहाँ मोटरवोर्ट चढेर तालको आनन्द लिन सकिन्छ भने एउटा व्यक्तिले योजना बनाएर काम गरे पर्यटक आकर्षित कसरी हुँदा रहेछन् भन्ने सिकाई समेत अर्को उपलब्धी हो । स्थानीयका अनुसार सुरुमा दुई वटा माछा पोखरी बनाउन त्यहाँ खनिएको थियो । तर पछि योजना बदलियो र बागमतीबाट ठूलो पानी लगेर तालनै बनाइएको छ । १२१ विघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित ताल हेर्न दैनिक हजारौँको भीड लाग्ने गर्दछ ।
सहकारी संस्थाको नियमित कार्यक्रम ‘अध्ययन अवलोकन’ अनुसार शेयरसदस्यहरुको क्षमता विकास, देशभित्रैका विभिन्न नयाँ स्थानको जानकारी लिने दिने र सामुहिक परिचय गराउने उद्देश्यले सो भ्रमण गराइएको संस्थाका उपाध्यक्ष मोहन आचार्यले बताए । सहकारी भनेकै सहकार्य र एकता भएकाले एक्लै घुम्न नपाउने सदस्यहरुलाइ समेत यो अवसर भएको उनको भनाई छ । यसले सहकारीलाई बुझ्न र बचत गर्न थप प्रेरणा मिल्ने आचार्यले बताए ।
संस्थाका सचिव शंकर आचार्यले सवै आर्थिक अवस्था भएका शेयरसदस्यहरुलाई समावेश गरेर नयाँ पर्यटकीय स्थलको अवलोकन गराएको बताए ।उनले भने,“बलियो आर्थिक अवस्था भएका शेयरसदस्यहरु होला अवलोकनमा जाने भन्ने धेरैको सोच हुन्छ । तर त्रिनेत्रले सवैलाई समान स्थान दिएर बचतको केही नियम बनाई भ्रमण गराउँछ ।” उनका अनुसार भ्रमण बचतमा नियमित गर्ने र रु. २० हजार ऋण लिई सिलाई मेशीन खरिद गरेर नियमित किस्ता तिर्नेलाई समेत यो अवसर दिइएको हो ।
कोरोनाले असर गरेर भ्रमण गर्न नपाएपनि अहिले सहज भएपछि भ्रमण गराइएको हो । नियमिततर्फ यो तेस्रो अवलोकन भ्रमण हो भने यो आर्थिक वर्षमा पहिलो रहेको आचार्यले बताए । अन्तर जिल्ला भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धन र थोरै भएपनि आर्थिक टेवा पुग्ने भएकाले अहिलेको भ्रमण फलदायी भएको आचर्याको भनाई छ । दुइ वटा वसमा करिव ८० जना शेयरसदस्यहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्थाकी कार्यसमिति सदस्य सीता शर्मा पोख्रेलले भ्रमण कार्यक्रमले शेयर सदस्यहरु रमाएको बताउँदै आगामी दिनमा बचतलाई बढाउँदै सहकारीमा आवद्ध हुनेहरु बढ्दै जाने आशा गरिन् ।
सहकारीका प्रबन्धक प्रद्युम्न ढुङ्गानाले सहकारीको खम्बानै शेयर सदस्य भएको बताए । २०६८ देखि आफूले यो पदमा रहेर काम गर्दै आएको बताउँदै शेयर सदस्य सन्तुष्ट भएमात्रै संस्था दीगो हुने भएकाले सदस्यहितमा उनीहरुको आवश्यकता अनुसार यो कार्यक्रम गरिएको बताए ।
अवलोकन भ्रमणपछि प्रतिक्रिया दिँदै शेयर सदस्य सीता आचार्यले संस्थाको कार्यक्रमका कारण नयाँ स्थानहरुको जानकारी पाएको बताउँदै भरत तालले शिक्षा समेत दिएको बताइन् । घर नजिकै भएको सहकारीमा बचत गर्दा भ्रमण समेत गर्न पाउँदा सहकारीलाई आभार व्यक्त गरिन् ।

बागमती नदी माथि निर्माणाधीन रेलको लिक
हेटौँडा सहिद स्मारकका सुपरभाइजर रामहरी कार्कीले त्रिनेत्रको समूहले ठूलो टेवा पुर्याएको बताए । कोरोनापछि पनि त्यति धेरै पर्यटक नआएको बताउँदै उनले यसरी समूहमा आउने पर्यटकका कारण कोभिडले मारमा रहेको पर्यटन क्षेत्र चलायमान हुँदै जाने बताए । भरत तालका स्थानीय कृष्ण लामाले त्रिनेत्र संस्था जसरी आउने सामुहिक भ्रमणले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक क्षेत्र चलायमान भएको बताए । करिव ठूला साना २० वटा मोटरवोट रहेको र ५० वढी स-सना व्यवसायीले रोजगारी पाइरहेको उनको भनाइ थियो ।

मानवनिर्मित भरत ताल