चितवन । टिकौली चउरमा फागुन १५ देखि सुरु भएको रत्ननगर महोत्सव सकिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना र नगरपालिकाको संरक्षणमा भएको महोत्सवमा अत्यधिक दर्शक आएपछि एक दिन थप गरिएको थियो ।
आयोजकका अनुसार फागुन २३ गते अन्तिम भनिएपनि अन्तराष्ट्रिय नारी दिवस फागुन २४ सम्म महोत्सव गरिएको हो । नारी दिवसका अवसरमा महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था थियो ।
उद्घाटनको संघारमा कोभिड महामारीको जोखिमका कारण रोकिनुपर्दाको पीडाका बीच सुरु भएर महोत्सव सफलतापूर्वक सम्पन्न भएको मूल आयोजक समितिका अध्यक्ष अनिलकुष्ण श्रेष्ठको भनाई थियो ।
आर्थिक कारोबार, अवलोकनकर्ता र स्थानीय उत्पादनको पर्वद्धनका क्षेत्रमा महोत्सव पूर्णरूपमा सफल भएको संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले बताए ।
महोत्सवमा करिब तीन लाखले अवलोकन गरेको र १५ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको उनले जानकारीदिए । महोत्सवको अन्तिम दिन मंगलबारमात्र ५० हजारले अवलोकन गरेका थिए ।
मंगलबार कुल संख्याको ८० प्रतिशत महिलाले अवलोकन गरेका थिए । कोरोनाले थलिएको जिल्लाको अर्थतन्त्रलाई पुनर्जीवन दिने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ४२५ वटा स्टलहरु रहेको थियो । महोत्सव समापन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद् कन्चन खनालले संघको स्मारिका विमोचन गरेकी छन् ।
कार्यक्रममा महोत्सवअन्तर्गत आयोजना गरिएको जगतकृष्ण प्रजापति स्मृति विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा भलिबल प्रतियोगितामा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ । कृषितर्फ उत्कृष्ट उत्पादन तथा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि खनालले रत्ननगरमा आयोजना गरिएको महोत्सवले समग्र जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराएको बताइन् । मेयर नारायण वनले रत्ननगर महोत्सवले आर्थिक विकाससँगै चितवनमा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्याएको बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाल, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक जुली भट्टलगायतले मन्तव्य राखेका थिए ।
समापन कार्यक्रम संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



