चितवन, फागुन २३ । आगामी चैत्र १९ गते शनिवार चितवनमा राष्ट्रिय स्तरको एथलेटिक्स प्रतियोगिता हुने भएको छ । लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिट भरतपुर १३ को आयोजनामा हुने प्रतियोगितामा २० जिल्लाका करिव ३ सय खेलाडी सहभागी हुने जिल्ला एथलेटिक्स संघ चितवनका अध्यक्ष मान बहादुर रजालीले जानकारी दिए ।
उनका अनुसार जुनियर छात्रछात्रा, सिनियर महिला पुरुषतर्फका विभिन्न २८ विधामा प्रतिस्पधाई गराइनेछ । प्रत्येक विधामा प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ र तृतीय हुनेलाई २ हजार नगद, पदक र प्रमाण पत्र प्रदान गरिने रजालीले बताए । भरतपुरको देवनगर चम्पानगरमा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि सहित खेल पोसाकबाट पुरस्कृत गरिने भएको छ।
जुनियर छात्र तथा छात्रा र सिनियर पुरुष महिलातर्फ ६० मिटर, २०० मिटर, ८०० मिटर, लङ जम्प, सटपुट खेल हुनेछ । जुनियर छात्र छात्रातर्फ ३ किलोमिटरको र सिनियर पुरुष र महिला तर्फ ८ किलोमिरट क्रस कन्ट्री र भेट्रान पुरुष र महिला तर्फ ५ किलोमिटर क्रस कन्ट्री इभेन्टहरु समावेश गरिएको बरिष्ठ प्रशिक्षक कान्ति महतोले जानकारी दिइन् ।
आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । ‘आइ लभ चितवन’ नारा दिएर ‘एलटिके ट्याक एण्ड फिल्ड २०२८’ नाम दिएर हुने प्रतियोगितामा २८ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
ग्रामिण पर्यटनलाई मौलिकता सहित आधुनिक शैलिमा प्रवर्धन गर्ने र खेलसँगै पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रबाट आफूले खेल आयोजना गरेको फार्म संचालक देवेन लोहनीले बताए। अहिले लोहनीले आफ्नै फार्ममा एथलेटिक्सका लागि आवश्यक संरचना बनाइरहेका छन् । यो संरचनाले भविष्यमा समेत खलकुदका गतिविधि गर्न मिल्ने उनले बताए ।
नेपाली खेलकुद जगतमा खेलकुदको विकास र खेलाडिको उत्पादन, स्तरोउन्ती, हौसला एवं प्रोत्साहन गर्दै जाने उद्देश्यने बिगतका वर्षदेखि विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको उनको भनाई छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई निःशुल्क खान वस्नको व्यवस्था रहेको छ भने सहभागी गराउने अन्यले आफ्नै खर्चमा खान वस्न पर्ने तर प्रतियोगितामा निःशुल्क सहभागी गराइने होटलका म्यानेजर राजेश शर्मा आार्यको भनाई छ । उनका अनुसार खेल अवलोकनका लागि निःशुल्क प्रवेश गरिएको छ ।
निजी स्तरबाट खेलक्षेत्रको योगदान दिने लोहनीको कार्यले खेलको विकास र नयाँ प्रतिभाले स्थान पाउने एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक शसील नरसिँह राणाले बताए । राज्यले समेत पर्याप्त ध्यान नदिएको बताउँदै उनले खेलबाट चितवनको पर्यटन चिनाउन यसले मद्दत मिल्ने बताए ।
चितवनका अध्यक्ष रजालीले जिल्लामा यो खेलका लागि पर्याप्त संरचना नहुँदा आशातित विकास गर्न नसकेको बताए । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेपनि उनीहरुका लागि खेल्ने र दौडने ठाउँ अभाव भएको र लेकट्वान्टीको सक्रियतालाई आभार व्यक्त गरे ।
भरतपुर ६ र १३ नम्वर वडाको सह प्रायोजकमा चितवन जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा खेल सम्पन्न हुने बताइएको छ ।