चितवन । नेपाली कांग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनमा जारी मतदानको समय थप गरिएको छ । निर्वाचन समिति संयोजक अधिवक्ता ज्ञानेन्द्र अधिकारीका अनुसार साँढे ६ बजेसम्म मतदान गर्न पाउने व्यवस्था गरिएको हो । अहिले मतदान जारी छ। विहान केही घण्टा ढिला सुरु भएकाले साँढे ६ बजेसम्म समय थपिएको उनले बताए । हालसम्म कुल २९४५ जना प्रतिनिधि रहेकोमा २४ सय बढी मत खसिसकेको उनको भनाई छ ।
नारायणगढको नारायणीकला मन्दिरमा मतदान भइरहेको छ। सभापतिको लागि झरेको मत आज रातिनै गणना गर्ने उनले बताए ।
चितवन काँग्रेस हाँक्न अहिले सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।
संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुनेछ ।
दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।
दुई सचिवका लागि आठ जना र दुई सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको छ।
कार्यसमिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा माडीकी शुक्रमिया महतो र समानुपातिकतर्फ आदीवासी जनजाति महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भइसकेका छन् ।