डोलराज रानाभाट, भिर्कोट ।
कुनै समय तनहुँको निकै पीछडीएको ठाउँ हो दक्षिणी भेग भिर्कोट । गाविस भएपनि खासै विकास हुन नसकेको स्थानमा अहिले धेरै क्षेत्रमा प्रगति देखिएको छ । घण्टौँ हिँडेर सदरमुकाम आउनुपर्ने गाउँमा सडकपूर्वाधार पुगेको छ भने लालटिन,मट्टीतेलबाट वत्ती वालेर दैनिकी विताउनुपर्ने गाउँमा अहिले विद्युत पुगेको छ ।
देशमा नयाँ संविधान २०७२ असोज ३ गते जारी भएपछि देश संघीयतामा गयो । जस अनुसार साविक भिर्कोट गाविस वडानम्वर २ देखि ७ मिलाएर ऋषिङ गाउँपालिका वडानम्वर ४ बनाइयो । साविक वडानम्वर १ अहिलेको ऋषिङ्ग ६ र वडानम्वर ८ र ९ अहिलेको ऋषिङ्ग ३ मा गाभियो ।
२०७४ साल वैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा भारी मत सहित वडाअध्यक्षमा पूर्व शिक्षक एवम् प्रधानाध्यापक समेत भएर जिम्मेवारी निभाएका भोजराज रानाभाट नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षमा निर्वाचित भए ।
रानाभाटले ५५४ मत ल्याउँदा नेकपाका लक्ष्मण रानाभाटले २२०, राष्ट्रिय जनमुक्ति पार्टीका शेरबहादुर ओन्टाङले १०४ र नेकपा माओवादी केन्द्रका नन्दलाल विश्वकर्माले ९५ मत पाएका थिए ।
२०३८ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर रुख र चार तारे झण्डाको अभियानमा पुगेका रानाभाट २०४६ सालमा नेपाली काँग्रेस को साधारण सदस्य प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसको १२ औँ अधिवेशनबाट भिर्कोट गाउँ कार्य समितिको सचिव र क्षेत्रीय प्रतिनिधि, नेपाली काँग्रेसको १३ औँ अधिवेशनबाट भिरकोट गाउँ कार्यसमितिको सभापति र क्षेत्रीय प्रतिनिधि रहेर आफ्नो योगदान दिइसकेका छन् ।
२८ वर्षको शिक्षण पेशाबाट सेवा निवृत्तपश्चात नेपाली काँग्रेसबाट उम्मेदवार रहेर २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट ऋषिङ्ग गाउँपालिका वडानम्वर ४ को वडाअध्यक्ष पदमा अत्याधिक ५५४ मत ल्याउन सफल भएका थिए ।
साविककका वडाहरुमध्ये ६ नम्वर वडामात्र झिनो मतान्तरले नेपाली काँग्रेसले विजय प्राप्त गर्ने इतिहास थियो अन्य वडाहरु २,३,४,५ मा कम्युनिष्टहरुको वाहुल्यता थियो ।
तर भारी मतान्तरले विजयी हुन सफल रानाभाटले सवैलाई गर्ने समान व्यवहार र परेको समस्यामा समाधान गरिदिने व्यक्तिको रुपमा परिचित छन् । उक्त निर्वाचनबाट त्यहाँको जनमतको कदर गर्दे ऋषिङ्ग गाउँपालिका वडनम्वर ४ मा सामाजिक एकता, समान न्याय, फरक मत भएका व्यक्ति र पार्टीका व्यक्तिहरुसँग पनि सहकार्य गर्दै उनले काम गरीरहेका छन् ।
आफ्ना सहकर्मी, वडासदस्य कर्मचारी र ऋषिङ्ग गाउँपालिकाकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारी वीचको सहकार्यमा वडानम्वर ४ मा ५ वर्षको अवधिमा उनले थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेका छन् ।
जनताको आवश्यकता र चाहाना अनुसारनै विकासका कार्यहरु भइरहेको उनले बताए । वडाले शिक्षा,स्वास्थ्य,सडक, खानेपानी, रोजगारी सृजनाका लागि विभिन्न सीपमूलक तालिम, विपद जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा काम भइरहेको बताए ।
यो पाँच वर्षको अवधिमा वडाको शिक्षातर्फ
शिक्षा जीवनको अपरिहार्य हो । तर गुणस्तीय शिक्षाका लागि अझैपनि घण्टौँ हिँडेर माध्यामिक शिक्षा लिनुपर्ने वाध्यता छ । यही वाध्यतालाई बुझेर वडाले एसइई परीक्षा दिने विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ्ग कक्षाको व्यवस्था गरेको छ । वडाको सहयोगमा शहवीर आाधारभूत विद्यालयको छात्रछात्रावास भवन निर्माण भएको छ ।
विद्यालयहरुमा आवश्यकता अनुसारको शैक्षिक सामाग्री व्यवस्थापन,विद्यालय अनुगमन, वालविकास मावि भिरकोटमा ८ कोठे भवन, २ वटा आरसीसी भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने विद्यालयको जमिन संरक्षणसँगै तारवार लगाउन वडाले बजेट दिएर काम भएको छ । त्यस्तै पद्म ज्योति आधारभूत विद्यालयमा ४ कोठे आरसीसी भवन निर्माण सम्पन्न भएको छ भने भिरमा हुन सक्ने सम्भावित जोखिमबाट बचाउन तारवार तथा कम्पाउण्डले विद्यालय घेरिएको छ ।
महेन्द्र ज्योति प्राविको खेलकुद ग्राउण्ड र गेट निर्माण, कालिका प्रावि मधुवनमा २ कोठे ट्रस भवन निर्माण सम्पन्न भएको छ । वडाभित्रका निजीस्रोत शिक्षक व्यवस्थापन लाई आवश्यक बजेट उपलब्ध गराएर शैक्षिक सुधारमा काम भएको छ ।
स्वास्थ्यतर्फ
भिर्कोटमा १० शैयाको अस्पताल निर्माणकार्य जारी छ । गुम्लेकमा स्वास्थ्य इकाई संचालनमा आएको छ । सामान्य चोटपटक तथा रोग लाग्दैमा भिर्कोट ल्याउनुपर्ने वाध्यता हटेको छ ।
स्वास्थ्य सामाग्री तथा औषधिहरुको व्यवस्थापन, ऋषिङ गाउँपालिका, हिमालय खाँखा अस्पताल र रोटरी क्लवसँग समन्वय गरी २ पटक सम्म स्वास्थ्य शिविर संचालन गरिएको छ ।
अस्पतालका लागि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बाट ६ लाख , सामुदायिक वन समूह ६ वटाबाट ९ लाख र वाँकी गाउँपालिकाको बजेट खर्चने गरी ख वर्गको एम्बुलेन्स सेवा संचालनमा ल्याउन कर छुट स्वीकृतका लागि जिल्ला अस्पताल र प्रदेश सरकारबाट स्वीकृत गरी स्वास्थ्य मन्त्रालयबाट हुनुपर्ने कार्यहरु समेत अन्तिम चरणमा पुगेको छ । केही समय पछि एम्बुलेन्स सेवा विस्तार गरिने वडाअध्यक्ष रानाभाटको भनाई छ ।
खानेपानी तर्फ
वडानम्वर ४ मा रहेका परम्परागत कुवाहरुको मर्मत र संरक्षण गर्दै घरघरमा धारो पुर्याउने अभियान जारी छ । साविक ७ नम्वर वडा रोमुङ्ग, १ घर १ धारा अभियान लागू भएर ११० घरधुरीमा काम सम्पन्न भइसकेको छ । साविक २ थप्रेकमा १ घर १ धारा अभियानबाट ५३ घरधुरीमा खानेपानी धारा पुगेको छ ।
पालिङटार खानेपानी आयोजनाबाट १ घर १ धाराको काम ३२ घरधुरीमका लागि अन्तिम चरणमा पुगेको छ । मधुवन खानेपानी योजनापनि संचालन भइरहेको छ । जहाँबाट १ घर १ धारा, ७३ घरधुरीमा निर्माण कार्य तीव्र गतिमा भइराखेको र यसै वर्ष सम्पन्न हुने लक्ष्य लिइएको रानाभाटले बताए ।
तर सिर्कोटमा भने उपभोक्ता समितिको चासो कम हुँदा समस्या भएको उनको भनाई छ । सिर्कोट लिफ्ट खानेपानी आयोजनाको कार्य उपभोक्ताको सुस्तीपनाले अधुरो रहेको छ । गाउँपालिकालाई उपभोक्ताले टेण्डर गर्न नदिएको र उपभोक्ताहरुबाट पनि काम तीव्रगतिमा नहुँदा समस्या भइरहेको छ ।
साविक भिर्कोट ३ र ५ का लागि समेत खानेपानी योजनाका लागि बजेट परेपनि काम हुन सकेको छैन । तर वडाले भने मूल खरिद तथा खानेपानी आयोजनाका लागि २०७४ कै बजेटबाट रु. ६ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै गण्डकी प्रदेश सरकारले पनि १ घर १ धाराका लागि विनियोजित गरेको बजेटबाट पिल्लर ठड्याउने काम भने सम्पन्न भएको छ।
सोही खानेपानी आयोजना सम्पन्न गर्न गाउँपालिकाबाट वडालाइ प्राप्त हुने बजेट २०७५ सालमै १६ लाख , २०७६ मा १४ लाख र २०७७ मा १३ लाख बजेट छुट्याएपनि उपभोक्ताबाट कुनै काम नभएपछि फ्रिज भइरहेको छ । शाखा लाइनको कार्य बाँकी रहेकाले योजना अधुरो रहेको वडाअध्यक्ष रानाभाटको भनाई छ। उपभोक्ताहरुको चासो कम हुँदा सम्पन्न हुन समस्या भइरहेको उनले बताए ।
विद्युततर्फ

पालिङ्गटारमा विद्युतीकरणका लागि जडित सामाग्री
२०७४ वैशाख ३१ भन्दा अगाडि थप्रेक र भिर्कोट रोमुङ्गमा विद्युत सेवा पुगेको भएपनि अन्य ठाउँ पालिङटार डिही, राम्चे, वरडाँडा, पिपल डाँडा, कसुण्डे, फरकस्वाँरा, सिर्कोट सिङ्गुवा, मधुवन गुम्लेक गरी झण्डै ४५० घरधुरीमा २०७५/०७६ मा विद्युत सुविधा पुर्याइएको छ । वडानम्वर ४ मा वाँकी रहेका नारायनटारको १७ घरधुरीमा नेपाल विद्युत प्राधिकरणले पोल गाडेर तार समेत तान्ने कार्य अधुरो रहेकाले चाँडै पुरा गर्नका लागि समन्वय भइरहेको वडाअध्यक्ष रानाभाटको भनाई छ ।
सडकतर्फ
श्रृङ्गमार्ग ऋषिङबाट भिर्कोट सम्मको करिव १४ किलोमिटर बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेकोछ । यसै वर्ष सम्पन्न हुने योजना छ । हरेक वस्तीमा कच्ची मोटर मार्गले छोएको छ भने भिर्कोट रोमुङ थप्रेक रिङरोड पुरै ग्राभेल र सोलिङ गरेर वर्षामा पनि सहजै सवारी साधान चल्न सक्ने बनाएको उनले बताए ।
हरेक कुवा पधेँरा जाने ठाडा गल्लीहरु सोलिङ गरिएको छ । वर्खामा चिप्लो भएर लड्नुपर्ने जोखिम कम भएको छ । गल्लीहरु न्यून मात्रामा भएको र त्यसलाई पनि छिट्टै स्तरोन्नती गर्ने योजना रहेको उनको भनाई छ ।
पुलतर्फ

निर्माणाधीन हुँदाको ढाकार खोला पक्की पुल । यो पुल अहिले संचालनमा आइसकेको छ
ऋषिङ्ग गाउँपालिकाको बजेटबाट मात्र ढाक्रे खोला पक्की पुल निर्माण सम्पन्न भएको छ । ४५ मिटर लामो पुल संचालनमा आएसँगै वर्खामा खोलाले बगाउने र सडक अवरुद्ध हुने समस्या हटेको छ ।
हाँडी बन, नारायणटार झोलुङ्गे पुल निर्माण सम्पन्न भएर अहिले जनताले कालिनदीको कालबाट सहजै बच्न सकेका छन् । यात्रामा सहजता भएको छ। सिङ्गुवा बुलिङटार तनहुँ नवलपरासी जोड्ने र मधुवन रुपटार जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
कृषितर्फ
कृषि समृद्धिको मूल आधार हो । मानिसहरु गाउँ छोडेर सहर वसाइसराई गर्नेहरु बढ्दै जाँदा गाउँमा बारी बाँझो हुन थालेका छन् । वडामै बसेर कृषि गर्नेहरुलाइ विशेष प्राथमिकता दिएको वडाअध्यक्ष रानाभाटको भनाई छ ।
लैनो भैँसी पालन, बाख्रा पालन, बंगुर र कुखुरा पालन व्यवासयका लागि कृषकहरुको आवश्यकता अनुसार अनुदानको व्यवस्था गरिएको छ ।
तर कम्तिमा पाँच जना युवाहरुलाई रोजगारी दिनेगरी सामुहिक पशुपालन व्यवसाय थालनीका लागि विनियोजित बजेट सदुपयोग हुन भने नसकेको उनको भनाई छ । वडाले तरकारी तथा फलफूल खेतीलाई प्राथमिकता दिएको, वेमौसमी तरकारी उत्पादन कार्यलाई अनुदानको व्यवस्था गर्दै आएको छ ।
उद्यमशीलता
महिला तथा युवा रोजगारीका लागि विद्युत वाइरिङको तालिम थप्रेकमा, सिलाई वुनाई २ चरणको तालिम भिर्कोटमा र मुढा वुन्ने तालिम सिर्कोटमा एक चरण संचालन गरिएको वडाअध्यक्ष रानाभाटको भनाई छ । सिर्कोटमा तालिम भएपनि मुढा वुन्नेमा सवै टोल तथा साविकका सवै वडाका इच्छुक स्थानीयलाइ सहभागी गराइएको रानाभाटको भनाई छ ।
यस वर्षपनि १७ जना महिलाहरुलाई सिलाई कटाई तालिममा सहभागी गराइने र ९ जना महिलालाई केही दिनपछि स्वीटर वुन्ने तािलम दिइने वडाको तयारी छ । वडासँग सीमित स्रोत र साधान भएकाले सवै क्षेत्रमा सम्वोधन गर्न असम्भव भएपनि विभिन्न संघ संस्थासँगको समन्व्य र सहकार्यमा विभिन्न लक्षित कार्यक्रमहरु संचालन गरिएको छ ।
साहस नेपालबाट तरकारी खेती, बाख्रापालनका लागि अनुदान व्यवस्थापन गरिएको छ भने महिला शक्ति विकास केन्द्रबाट समूहगत महिला लक्षित कृषि तथा पशुपालन व्यवसायलाई अनुदान रकमको व्यवस्था र महिलाहरुमा जनचेतना अभिवृद्धि तालिम आदि संचालन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँको सहयोग र समन्वयमा वडानम्वर ४ मा रहेका १० जना पूर्ण अपाङ्गहरुलाई निःशर्त १० हजारका दरले र ३० जना अपाङ्गहरुलाई पशुपालन व्यवसाय संचालनका लागि २० हजारका दरले शर्त सहित अनुदान रकम उपलब्ध गराइएको वडाअध्यक्ष भोजराज रानाभाटले बताए । नेपाल रेडक्रस सोसाइटीबाट विपत तथा जोखिम पहिचान र न्यूनिकरण सम्वन्धी जनचेतनामूलक तालिम व्यवस्थापन गरिएको उनको भनाई छ ।
अझैपनि केही महिना बाँकी भएकाले आफ्नो अवधिमा अपूरा रहेका योजनालाइ पूर्णता दिनेगरी काम भइरहेको वडाअध्यक्ष रानाभाटको भनाई छ ।

पालिङ्गटार पुगेको सडक त्यसको माथि देखिएको थप्रेक गाउँ