चितवन । चितवनको भरतपुर महानगरपालिकाले दुई वटा सामुदायिक विद्यालयलाई बस किनिदिने भएको छ । साझापुर मा.वि. मेघौली र श्री मा.वि. ढड्ढाघारीका लागि विद्यालय बस खरिदका लागि दुई पक्षिय सम्झौता भएको हो ।
बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेलबीच सम्झौता भएको हो ।
बुधबार सम्पन्न स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले सम्बन्धित विद्यालयलाई १० लाख ५० हजारका दरले विद्यालयलाई रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्चालनमा ल्याउनेछ।
विद्यालयमा विद्यार्थीको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई स्कुल बस दिने नीति लिएको बताउँदै यस वर्ष बस प्रदान गरेको बताउँदै तोकियकै मितिमा बस खरिद गरी सञ्चालनमा ल्याउन आग्रह गरिन्।
विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी गरेको बताइन्।
स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्ढाघारीका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदी र साझापुर माविका व्यवस्थापन समिति अध्यक्ष लालुमाया अधिकारीले संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद दिएका थिए ।
हालसम्म महानगरले नारायण नमूना मा.वि.भरतपुर, प्रभात मा.वि. शुक्रनगर, भिमनगर मा.वि. भिमनगर, लक्ष्मी मा.वि.जगतपुर र कविलाश मा.वि. जुगेडिलाई स्कुल बस प्रदान गरिसकेको छ।