चितवन,फागुन १६ । चितवनको भरतपुर महानगरपालिकाको खेलकुद विकास समितिले खेलाडीहरुलाइ पोषाक वितरण गरेको छ । महानगरभित्रका खेलाडीहरुको पोषाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्याकसुटको सेट सहयोग गरिएको संयोजक विकास श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार महानगरका विभिन्न खेलकुद प्रतियोगिताबाट छनौट भई जिल्लामा प्रतिस्पर्धा गर्न तयार १६३ खेलाडी र १६ जना कोचलाई पोषाक वितरण गरिएको हो । तेक्वान्दो, कराँते, भलिवल, क्रिक्रेट, महिला फुवटल लगायत विभिन्न ८ वटा विधामा प्रतिस्पर्धा गरेर उनीहरु जिल्लामा आउन सफल भएका हुन् । जिल्लामा उत्कृष्ट भए प्रदेशमा खेल्न पाउने श्रेष्ठको भनाई छ ।
पोषाक हस्तान्तरण गर्दै महानगर प्रमुख रेनु दाहालले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने र महानगरले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएरै काम गर्ने बताइन् । साथै जितको लागि खेलाडीहरुलाई शुभकामना दिँदै खेलक्षेत्रबाट महानगरलाई चिनाउन आह्वान समेत गरिन् ।
महानगरले खेलकुद विकास समिति गठन गरेपश्चात पहिलो पटक खेलाडीहरुलाई सहयोग गरिएको र आगामी दिनमा उत्कृष्ट खेल्ने खेलाडीहरुलाई छात्रवृत्ति उपलब्ध गराई निशुल्क पढ्न पाउने व्यवस्था मिलाउनेगरी काम भइरहेको श्रेष्ठको भनाई छ । उनले भने,“म खेलकुद क्षेत्रबाट आएको व्यक्ति हुँ । खेलाडीको समस्या र उनीहरुको चाहाना राम्रोसँग थाहा भएकाले महानगरको खेलक्षेत्रबाट जिल्लालाई चिनाउने गरी खेलाडीको हितका लागि काम गर्नेछु ।
पोषाक पाउँदा खेलाडी, कोचले महानगरको मायाले थप प्रेरणा मिलेको र आगामी दिनमा तालिम, खेल सामाग्री लगायतमा सहयोग गर्न आग्रह गरेका थिए ।




