डोलराज रानाभाट, गैँडाकोट । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा यही फागुन २१ गतेदेखि राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता हुने भएको छ । नगरमै पहिलो पटक क्रिक्रेटको ठूलो धनराशी सहितको प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।
‘प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७८’ नाम दिएर आयोजना गर्न लागिएको प्रतियोगितामा गण्डकी प्रदेशका सात र चितवन सहित आठ जिल्लाबाट सहभागी हुनेछन् । नवलपुर,बाग्लुङ,पर्वत,नवलपरासी,तनहुँ, स्याङ्जा, कास्की र चितवनको टिमवीच प्रतिस्पर्धामा हुने र उद्घाटन खेल नवलपुर र वाग्लुङवीच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५÷५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीव्र बनाएको जानकारी गराएको छ । ‘स्वास्थ्य, एकता र समुन्नतीका लागि खेलकुद’ नारा दिएर सुरु गर्न लागिएको प्रतियोगिताले गैँडाकोट र नवलपुरको खेल गतिविधिलाई राष्ट्रमा चिनाउन मद्दत मिल्ने प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको भनाई थियो । सत्तापक्ष र प्रतिपक्षको अभ्यास हुँदा खेलक्षेत्रमा नगरस्तरीय समिति बनाउन नसकेपनि विभिन्न क्लवमार्फत नगरको खेल गतिविधिलाई माथि उठाउने पहल गरिरहेको बताए । साथै कुनै गुनासो आउन नदिनेगरी प्रतियोगिता संचालन गर्न सुझाव सहित शुभकामना दिएका थिए ।
वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले युवाहरुको सक्रियताले वडाको विकासमा टेवा पुगेको र सार्वजनिक जमिन बचाएर राष्ट्रिय प्रतियोगिता गगराउन सफल भएको बताए । यो प्रतियोगितामा वडाले १लाख ९० हजार सहयोग गरेको र प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रतियोगिताका संयोजक एवम नवलपुर क्रिक्रेट संघका अध्यक्ष धामनाथ सापकोटाले खेलाडीहरुलाइ निशुल्क खाना र आवासको व्यवस्था सहित राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको बताए । प्रवेश शुल्क समेत निशुल्क रहेको र यहाँको क्रिक्रेट खेलका साथै मैदानको विकासका लागि ध्यानाकर्षण गराउन पनि यो प्रतियोगिता प्रभावकारी वन्ने बताए ।
नेपाल क्रिक्रेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेलले मैदान मापदण्डमै रहेको र नगरस्तरीय व्यस्थित क्रिक्रेट मैदानको आवश्यकता भएको बताए । अहिलेको प्रतियोगिताले सरकारको समेत ध्यानाकर्षण हुने र क्रिक्रेटको विकासका लागि थप बजेट तथा कार्यक्रम आउने आशा राखे । साथै सहभागी जिल्लाका कुनै खेलाडी अन्तराष्ट्रिय तहमा खेल्ने भएपनि यहाँ सहभागी हुन पाउनेगरी मापदण्ड बनाइएको बताए । प्रतियोगिताले क्रिक्रेट खेलाडी उत्पादन र प्रतिभा उजागरमा थप टेवा मिल्ने बताए । साथै राष्ट्रिय एम्पाएर, स्कोरर लगायतको टिमले खेलमा सहजीकरण गर्नेछ ।

एउटा टिमबाट १४ जना खेलाडि, १ जना टिम व्यवस्थापक, १ जना कोच गरी १६ जनाको सहभागीता रहनेछ । नव जागरण खेलकुद मैदान गैँडाकोट ९ थुम्सीमा हुने प्रतियोगिताको मुख्य प्रायोजक जयश्री फुड्स प्रा.लि. रहेको छ । प्रतियोगितामा ओवि इन्जिनियरिङ्ग, एम्स एब्रोड एजुकेशन प्रायोजक, दक्षिणकाली फ्यूल र यूनाइटेड पोलिस्याक्स प्रालि सह–प्रायोजक रहेका छन् ।
नवलपुर जिल्ला क्रिक्रेट संघको समन्वयमा गैँडाकोट नगरपालिकाको प्रर्बद्धकमा हुने प्रतियोगिता पाँच दिन सम्म चल्ने छ ।
पत्रकार सम्मेलनमा गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँल,समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता थियो । प्रतियोगिताका सह संयोजक डुड्डीराज कडेल विनोदले स्वागत गरेका कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले विजेता र उपविजेताले प्राप्त गर्ने मेडलको अनावरण समेत गरेका थिए ।
९ वर्षदेखिको पहल अहिले आएर साकार भएको भन्दै क्लवका सवै खुसी भएका छन्। कुनै गुनासो आउन नदिनेगरी प्रतियोगिता संचालनको तयारी भइरहेको उनीहरुको भनाई छ । प्रतियोगिता संचालनका लागि गैँडाकोट नगरपालिकाले ५ लाख, वडाले १ लाख ९० हजार, मुख्य प्रायोजकले २ लाख, प्रायोजकहरुले १/१लाख, सहप्रायोजकहरुले ५०/५० हजार र अन्य ठाउँबाट १ लाख ७५ हजार नगद सहयोग प्राप्त भएको क्लवले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको छ ।
https://studio.youtube.com/video/vEQYYp99aUs/edit



