चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २९ मा खानेपानी समस्या समाधान भएको छ । उक्त वडामा निर्माण भएको खानेपानी आयोजना आज नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका छन् ।
सबै भन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी आयोजनाको उद्घाटन गरिएसँगै खुसी भएका छन् । चौकीडांडा खानेपानी आयोजनाले सफल परीक्षण गरेको र केही महिनामै उद्घाटन गरिने महानगरले जनाएको छ।
वडाबासीलाई अब स्वच्छ सफा र सबर्सुलभ खानेपानीको सुनिश्चित्ता गर्न पाएको भन्दै नगरप्रमुख दाहालले जनताको आवश्यकता अनुसारनै विकासका कार्यहरु भइरहेको बताइन् ।
दैलोमा धारा आएसँगै पाँच सय मिटर तल धाउनुपर्ने वाध्यता हटेको छ । खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा धारामा वितरण गरिएको छ ।
ढोडेनी खानेपानी आयेजनाबाट त्यस क्षेत्रका ८३ घर लाभान्वित हुने भएका छन् ।
वडा अध्यक्ष मानबहादुर रानाले संघीय सरकारको बजेट एक करोड पाँच लाख, भरतपुर महानगरको ३५ लाख र बाँकी श्रमदान गरी डेढ करोड बढीको लागतमा सम्पन्न भएको बताए । स्थानीय खड्कबहादुर लामाले खानेपानी कार्यालय राख्नको लागि जग्गा उपलब्ध गराए भने चितवनका जग्गा व्यवसायी बामदेव गौलीले ट्याङ्की निर्माणमा सहयोग गरेको वडा अध्यक्ष मगरले बताए ।
त्यसैगरी सोही वडाको चौकी डाँडा खानेपानी आयोजनाको पनि पानी वितरणको परीक्षण सम्पन्न भएको छ। यसले वडा नम्बर २९ को धेरै पहाडी क्षेत्रलाई समेटेको छ । ८०० मिटर तलको डुम्री खोलाको पानीलाई लिफ्टिङ गरी थाम डाँडामा ट्याङ्की बनाएर पानी वितरण गरिदै छ। यो आयोजना निर्माणको लागि संघीय सरकारले दुई करोड, प्रदेश सरकारले दुई करोड ३० लाख र श्रमदान गरी चार करोड ९२ लाखको लागतमा सम्पन्न भएको हो ।