चितवन,फागुन १० । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसीको विपक्षमा मत हाले अहिलेको गठवन्धन नरहने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा कुराकानी गर्दै उनले एमसीसीको पक्षमा मतदान गर्न आह्वान समेत गरे । अव एमसीसी संसदबाट नै टुंगो लाग्ने बताउँदै यसको पक्षमा मत हाल्न भनेका हुन् ।
आगामी १२ गतेदेखि संसदमा एमसीसीमाथि छलफल सुरु हुने र सांसदहरुले आआफ्नो भनाईहरु राख्ने बताए । तर अहिलेका राजनीतिक दल र तीनका विभिन्न नेताहरु एमसीसीसँग कुनै न कुनै समय जोडिएकाले अहिले विरोध गर्नु नाटक मात्रै भएको बताए ।
गठवन्धन सरकारले ल्याएको प्रस्तावको खिलाफमा मतदान गरेर सरकारमा रहने नैतिकता नहुने भन्दै विपक्षमा मत हाल्ने र गठवन्धमा रहने दुवै हुन नसक्ने प्रष्ट पारे । सरकारले ल्याएको प्रस्तावको विपक्षमा जाँदा कसरी गठवन्धन रहन्छ ? रहनुको अर्थसमेत छैन उनले भने ।
उनले भने,“एमसीसीका प्रावधान सच्याउने हो भने त्यसको बाटो छ । अन्तराष्ट्रिय कानुमा एउटा व्याख्यात्मक प्रावधान छ । त्यसमा रहेर प्रत्येक बुँदामा हाम्रो घोषणा यो छ भनेर राख्छौँ र पारित गर्छौैँ। यसरी सम्झौतामा भएका प्रावधानलाई नेपालको हित अनुसार व्याख्या गर्न सकिन्छ । त्यो पनि सन्धीको अंग हुन्छ । हामीले गरेको सन्धी अनुमोदन भए मात्रै कार्यान्वयनमा जान्छ । ”



