नवलपुर । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको सो पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् । फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले राधाले मृत्युवरण हुने समयसम्म पनि गरेको साहसबाट सवैले सिक्नुपर्ने बताए । आफू रोगसंग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उनको योगदानलाइ भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्युनिकरण गर्न सकिने बताए ।
लामिछानेले क्यान्सर रोगका बिरामीले निःशुल्क उपचार पाउने बताए । गण्डकी प्रदेशले क्यान्सरबाट अकालमा ज्यान गुमाएका व्यक्तिको सहजताका लागि निःशुल्क उपचार गर्न लागिएको बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए । जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफू सदैव तयार हुने बताए ।
कार्यक्रममा कांग्रेस नेता गोपाल बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, वडाअध्यक्ष लक्ष्मी पौडेलले निडर र साहसी राधाले समाज परिवर्तनमा पुयाएको योगदानका बारेमा चर्चा गर्दै आउने दिनमा उनले शुरु गरेको क्यान्सर सचेतनाका कार्यक्रमलाइ निरन्तरता दिनु् पर्नेमा जोड दिए ।
२०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।
गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।