चितवन,फागुन ७ । नेपली नेताहरुलाई लायन्स क्लवबाट नेतृत्व हस्तान्तरण र परिणाममूखि नतिजाबारे सिक्न आह्वान गरिएको छ । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो आह्वान गरिएको हो ।
लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु नेपाल, वर्ष २०२१/०२२ का गर्भनर रामप्रसाद भट्टले एक÷एक वर्षमा नेतृत्व फेरिने र अर्कोलाई हस्तान्तरण गर्दा गौरव महसुस हुने बताउँदै यो प्रकृया नेपाली नेताहरुले सिक्न आवश्यक भएको बताए ।
आफ्नो कार्यकाल पूरा गरेर अर्को साथीलाई जिम्मेवारी दिँदा अझ राम्रो परिणाम आउने काम होस् भन्दै जिम्मेवारी दिने प्रचलन लायन्समा रहेकाले नेपाली राजनीतिक दलहरुले यसबाट पाठ सिक्न सक्नुपर्ने बताए । नेपालका नेताहरुलाई जीवनभर पदमा बसिरहन पर्ने लोभले देशले दुख पाएको भन्दै उनले भने ,“लौरो टेकेर हिँड्नुपर्ने अवस्था सम्मपनि पदमा बस्ने चाहाना नेपाली नेताहरुलाई हुन्छ तर लायन्समा आवद्ध नेतृत्वले एक वर्षमा आफ्नो कार्यप्रगति देखाएर अर्कोलाई हस्तान्तरण गरिन्छ । त्यसैले नेतृत्व एक पटक गर्नुपर्छ तर परिणाम दिनेगरी ।”
आजैदेखि ३२५ बी टु को १०औँ डिष्ट्रिक अधिवेशन पनि सुरु भएको छ । नवलपुरको गैँडाकोटमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यद्यपी आज चुनिने नेतृत्वले जुलाई १ देखिमात्रै कार्यभार सम्हाल्ने भट्टको भनाई छ ।
लायन्स क्लव इन्टरनेशनलमा विश्वभर सात सय बढी डिष्ट्रिक रहेको र नेपालमा चार वटा डिष्ट्रिक छन् । सदस्यताको हिसावले संसारको सवैभन्दा ठूलो डिष्ट्रिक ३२५ बी रहेको र एउटा गर्भनरले अनुगमन गर्न नसकेपछि पुनरसंरचना गरिएको छ । सोही पुनर्सरचना गरिएकाले चाँडै अधिवेशन गरिएको जानकारी दिए ।
नेपालभर रहेका करिव ६३५ वटा लायन्स क्लवलाई चार वटा डिष्ट्रिकमा विभाजन गरिएको छ । लायन्स क्लव इन्टरनेशल ३२५ एन मा १३० वटा क्लव, ३२५ पी मा २०७ वटा, ३२५ आर मा १७६ वटा र ३२५ एस मा ११९ वटा क्लवहरु रहेको भट्टले बताए ।