चितवन, फागुन ७ । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले सत्तापक्ष र प्रतिपक्ष दुवै दोषि भएकाले संसद अवरोध कायमै रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै नेता गुरुङले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद हुनुपर्ने सैद्धान्ति मान्यता विपरीत अहिले दोषारोपणमा दलहरु रहेको बताए ।
सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा बसेर अवरोध हटाउनुपर्ने अन्यथा संसदीय व्यवस्थाप्रतिनै जनतामा नकारात्मक सन्देश जाने गुरुङले बताए । गुरुङले भने,“ प्रतिपक्षले संसदमा सरकारको कमी कमजोरी पत्ता लगाएर नाङ्गेझार पार्नुपर्ने हो तर यहाँ त संसदनै अवरोध भइरहेको छ जुन गलत छ । दुवै मिलेर अवरोध अन्त्य गर्नुपर्छ । ”
साथै गुरुङले एमसीसीबारे नेपाली राजनीतिक दलहरु विभाजित नभई एकै ठाउँमा उभिएर निर्णय लिनुपर्नेमा जोड दिएका छन् । नेताहरुकै कारण विदेशीराष्ट्रहरु समेतले अभिव्यक्ति दिन थालेको भन्दै कहिले चीन त कहिले भारतको आँखाबाट नभई नेपाल र नेपाली जनताको आँखाबाट यस विषयलाई हेर्न आग्रह गरे ।
नेपाली नेताहरुकै कमजोरीका कारण एमसीसीवारे विदेशीहरु बोल्न थालेको बताए । नेता गुरुङले नेपाल र नेपाली जनताको हितमा छ की छैन भन्दापनि विदेशी देशहरुको आँखाबाट नेताहरुले बोल्न थाल्दा अहिलेको अवस्था आएको बताए ।
पछिल्लो समय विवादीत बनिरहेको एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न उनको आह्वान छ । एमसीसी राष्ट्रिय अनतराष्ट्रिय मुद्दा बनिरहदा सत्तापक्ष र प्रतिपक्ष नभनि सवै एक ठाउँमा उभिएर निर्णय लिनुपर्नेमा उनको जोड थियो ।
गुरुङले भने,“नेपाली नेताहरु त आफ्नै देश र जनताको हितमा बोल्नुपर्छ । तर एमसीसीको सन्दर्भमा शक्ति राष्ट्रहरु बोल्न थाल्नु नेताहरुकै कमजोरी हो । एमसीसीलाई देखाएर केहिले चीनको लागि कहिले भारतका लागि बोल्छौँ जुन गलत हो । ”
नेता गुरुङले एमसीसीको प्रारम्भिक चरणदेखि हालसम्म विप्लव,मजदुर किसान पार्टी र सिके राउत वाहेक अन्य सवै दल कुनैकुनै रुपमा संलग्न भएकाले दोषारोपण नभई नेपालको हितमा भए पास गर्न अन्यथा नगर्न छलफल गर्नुपर्ने बताए ।
पछिल्लो समय भीम रावलले दिने अभिव्यक्तिप्रति इगित गर्दै नेता गुरुङले रावल उप–प्रधानमन्त्री हुँदा एमसीसी कार्यान्वयनको चरण अगाडि बढाएको भन्दै सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले बाहिर हुँदा हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका व्यक्त गरे । उनले भने ,“भीम रावल स्वयम् मन्त्रीपरिषदको सदस्य । त्यो समय एमसीसी कार्यान्व्यन अघि बढेको थियो । त्यतिवेला किन विरोध नगरिएको त ? त्यसैले चीनको आँखाबाट उहाँले बोलेको त होइन भन्ने आशंका छ । ”
साथै गठवन्धनवारे बोल्दै नेता गुरुङले सरकारको एजेण्डामा सहमति हुन नसक्ने भए सरकारबाट बाहिरीन सुझाव दिए । एजेण्डा मिल्दा सम्म सँगै बस्न अन्यथा बाहिरिन गुरुङले सुझाव दिएका हुन् ।
नेता गुरुङलाई गैँडाकोटका काँग्रेस नेताहरुले स्वागत गरेका थिए ।