डोलराज रानाभाट
दुम्कीवास नवलपुर, फागुन ६ ।
पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले दिएको आश्वासनबाट दिक्क भएका जनताले दुम्कीवास त्रिवेणी सडकले पूर्णता पाउनेमा ढुक्क रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आज सो सडक अवलोकन गर्दै स्थानीयले नवलपुरकै मुख्यमन्त्री भएकाले ढुक्क भएको बताए । स्थानीय प्रकाश कुँवरले भने,“धेरै पटक आश्वासन मात्रै पायौँ । अहिले मुख्यमन्त्रीले कामको विवरण सुनाउँदा धेरै आशावादी छौँ । यो पटक पनि सडक निर्माण नभए हामीलाई प्रदेश पाँचमा मिसाइदिए हुन्छ । आशा छ त्यो अवस्था आउन दिनुहुन्न । ”
दुम्कीवास त्रिवेणी सडक निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका वडानम्वर ६ र ७ का जनताहरु लुम्बिनी प्रदेश भएर गाउँपालिकाको सेवा लिन वाध्य छन् । समय धेरै, खर्च उस्तै र सडकको अवस्था समेत राम्रो नहुँदा सेवा लिन धेरै कठिन भइरहेको गुनासो स्थानीयको छ । आफ्नो प्रदेशको सेवा लिन अर्को प्रदेश हुँदै जानुपर्ने वाध्यता भएपछि संघीयता के का लागि भन्दै उनीहरुले वर्षौँदेखि प्रश्न गरिरहेका छन् । गाउँपालिकाको कार्यालय महेन्द्र राजमार्गको छेउ दुम्कीवासमा छ ।
वर्षौँ पहिले गजेन्द्रमोक्षधाम नजिकैबाट कमलनयन आचार्य सहितले सडकको ट्रयाक खनेपनि निकुञ्जमा मुद्दा परेपछि रोकिएको थियो । तर पनि यसअघिको सरकारका मुख्यमन्त्री, मन्त्री,सभासद पुगेर सडक निर्माण गर्ने आश्वासन दिन भने छाडेका थिएनन् ।
चीनको कोरला र भारतको नाकासँग सिधै जोडिने गण्डकी प्रदेशको लाइफलाइन भएकाले निर्माण गर्ने बताएपनि त्यो कुरामै सीमित भएको अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको भनाई छ । सडक अवलोकनपछि उनले भने,“हामी प्रतिपक्षमा रहदापनि पटक पटक यो सडक निर्माण गर्न आवाज उठायौँ । पूर्व सरकारले काम हुँदै छ भनेर भन्यो तर अहिले संघमा पुगेर फाइल हेरेँ, जस्ताको त्यस्तै रहेछ । कुनै काम भएको रहेनछ ” पोखरेलले थपे,“ म र अर्थमन्त्री सहितले प्रधानमन्त्री, वन वन्त्री र विभागसँग भेटेर रोकिएको फाइल अगाडि बढाउन भन्यौँ र प्रकृया सुरु भइसकेको छ । ”
मुख्यमन्त्री पोखरेलका अनुसार वनले स्वीकृत दिएर सडक विभागलाई डिपिआर बनाउन भनिसकेको छ । अव डिपिआर वन्ने र त्यसपछि फिल्डमा काम सुरु गर्न रकमको अभाव नहुने स्पष्ट पारे । निकुञ्जको क्षेत्र भएकाले युनेस्कोसँग पनि सहमति लिन पत्राचार गर्ने उनको भनाई छ । सरकारले आवश्यकताको पुष्टी गरेर पत्र पठाएपछि युनेस्कोले पनि नरोक्ने दावी मुख्यमन्त्री पोखरेलको छ । साथै युनेस्कोले वन र वन्यजन्तुका लागि दिएको सुझाव पालना गरी अण्डरपास ओभर पास सहितको संरचना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताए ।
उनले भने,“यो नयाँ योजना भन्दापनि संघ सरकारले पहिलानै त्रिवेणी दुम्कीवास पाल्पा भनेर प्रकृया अगाडि बढाएको रहेछ । तर कुनै प्रगति नभएपछि अहिले वल्ल निर्देशन भएको छ । ” त्रिवेणी हुँदै दुम्कीवास – चोरमारा –डेढगाउँ– भिमाद –खैरहनी– पोखरा हुँदै कोरला पुग्ने र यसले प्रदेशको समृद्धिको ढोका खोल्ने दावी मुख्यमन्त्री पोखरेलको छ । जसरी पनि सडक निर्माण गरेरै छाड्ने प्रतिवद्धता उनको थियो ।
अर्थमन्त्री रामजी बरालले अव चाँडै करोड भन्दा बढीको योजना विनयी त्रिवेणी गाउँपालिकामा संचालन हुने बताउँदै दुम्कीवास त्रिवेणी सडक जुनकुनै हालतमा संचालनमा ल्याउने बताए । उनले भने,“सडक निर्माणको प्रकृया अगाडि बढेको छ । अर्थमन्त्रालयबाट आवश्यक बजेट उपलब्ध हुन्छ । यो प्रदेशको गौरवको योजना हो हामी छिटो सम्पन्न गर्न संकल्पकृत छौँ । ”
वडानम्वर ६ का अध्यक्ष पृतम बहादुर गुरुङले बाटो नखुल्दा वडावासीले धेरै दुख पाएर आक्रोशीत भएको बताए । प्रशासनमा आउनजाननै कठिन रहेको भन्दै बाटो खुलेमा मात्रै १७ किलोमिटरमा गाउँपालिका पुग्न सकिने तर अहिले करिव ४० किलोमिटर बढी यात्रा गरेर जानुपर्ने वाध्यता रहेको बताए । तर मुख्यमन्त्रीको अवलोकन र पछिल्लो प्रगति सुनाउँदा सडक निर्माणले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।
वडानम्वर २ का स्थानीय भगवान गिरीले दुम्कीवास त्रिवेणी सडकले पूर्णता पाए वहूआयामिक फाइदा हुने बताए । धार्मिक करिडोरको रुपमा विकास गरी लाखौँ पर्यटक भित्राउन सम्भव हुने र व्यवस्थित भन्सार कार्यालयको स्थापना गरी आम्दानीको स्रोत समेत बढार लैजान सकिने बताए ।
मुख्यमन्त्री सहित आज अर्थमन्त्री रामजी बराल,प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, ओमकला गौतम सहितको टोलीले रोकिएको ठाउँमा पुगेर अवलोकन गरेको थियो । टोलीमा मुख्य सचिव,अर्थसचिव, न्यायाधिवक्ता, गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय प्रमुख, पत्रकार सहितको उपस्थिती थियो ।