नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले व्यवसायीको निर्मम तरिकाले हत्या गरेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले आज पक्राउ गरेका ६ जनालाई सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीका अनुसार कपिलवस्तु, सुद्धोधन गाँउपालिका १ उच्डीहवा स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका २७, असनमा भाडा वर्तन एवं हार्डवेअर व्यवसाय गर्ने वर्ष ३५ का बिजय चौधरीको हत्या भएको हो ।
माघ ८ गते शनिवार विहान ०८ः१५ बजेको समयमा रामग्राम नगरपालीका ९ जोकवार स्थित सडक छेउको नालीमा दुबै हात पछाडीबाट प्लाष्टिकको डोरीले कसेर बाधिएको, अनुहार गम्छाले बेरिएको तथा गलबन्दीले घाँटीमा गाँठो बनाई कसिएको अवस्थामा चौधरीको शव फेला परेको थियो ।
डिएसपी सहितको टोलीले अनुसन्धानका क्रममा मृतक सहित ८ जना साथीहरु काठमाडौं बस्ने गरेको खुलेको थियो । घटनाम संलग्न तलत अलि खान, जित बहादुर श्रेष्ठलाई माघ २० गते पक्राउ गरी जिल्ला अदालत नवलपरासी (पश्चिम) बाट मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा अनुसन्धान गर्नको लागि म्याद लिई अनुसन्धान सुरु गरेको प्रहरीले माघ २४ गते रामग्राम नगरपालिका २ बस्ने बर्ष ४२ की शारदा देवी केवट,निजको श्रीमान् वसन्त कुमार सहानीलाई घरबाट तथा यो घटनाका मुख्य योजनाकार र बिजय चौधरीको हत्या गर्ने कार्यमा संलग्न राजु शाह भन्ने मंजुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसालाई माघ २५ गते पाल्हिनन्दन गाउँपालिका १ महेशपुर स्थित नेपाल–भारत सिमा नजिक पक्राउ गरी जिल्ला अदालत नवलपरासी (पश्चिम)बाट म्याद लिई थप अनुसन्धान कार्य भैरहेको डिएसपी शाहीले बताए ।
तलत अलि खान, मोहन बिक्रम श्रेष्ठ, मनश्याम खड्गी र मृतक बिजय चौधरी काठमाण्डौ मुङ्गलीन हुँदै तथा बिके शाही,दिनेश कार्की, जित बहादुर श्रेष्ठ, केशव सुवेदी हेटौडाकोबाटो हुँदै माघ ६ गते काठमाण्डौबाट जग्गा बैना पट्टा गर्नको लागी भैरहवा आई भैरहवाको एक होटलमा बसेका अनुसन्धानकाक्रममा पत्ता लागेको तथ्य प्रस्तुत गर्दै पहरीले भनेको छ ।
माघ ७ गते साँझ मृतक बिजय चौधरी, तलत अलि खान, राजु शाह भन्ने मन्जुर आलम देवानवीच भैरहवा स्थित यति होटल नजिकै एक चिया पसलमा भेट भएको थियो । सोही दिन २० लाख रुपैयाँ लिई बिजय, राजु शाह भन्ने मञ्जुर आलम देवान संग जग्गाको बैनापट्टाको लागि दुबै जनासंगै गएको खुलेको थियो ।
मृतक चौधरीलाई राजु शाहासंग चिनजान गराउने व्यक्ती तलत अलि खान रहेको र राजु शाहासंग तलत अलि खानको बिभिन्न माध्यमबाट निरन्तर सम्पर्क एवं भेटघाट हुने गरेको प्रहरीले अनुसन्धानकाक्रममा पत्ता लगाएको थियो ।
अनुसन्धानको क्रममा राजु शाहा ब्यक्ति हाल जिल्ला नवलपरासी रामग्राम नगरपालिका ५ ड्राईभर टोल बस्ने बर्ष ३७ को मंजुर आलम देवान रहेको र घटनाको दिनदेखि उनको परिवार सहित फरार रहेको प्रहरीले पत्ता लगायो ।
मंजुर आलम देवान र उनको श्रीमती बर्ष ३५ की हदिसुन नेसा समेतको खोज तलासका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी उनीहरुको गतिविधीहरुको सुक्ष्म रुपमा निरन्तर निग्रानी एवं खवर संकलन कार्य गरेपछि फरार रहेका राजु शाहा र उनको श्रीमती हदिसुन नेसालाई माघ २५ गते जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका १ महेशपुर स्थित नेपाल–भारत सिमा नजिक नेपाल तर्फबाट भारतिय प्रहरीको समन्वय र सहकार्यमा पक्राउ गरिएको हो ।
राजु शाह भन्ने मंजुर आलम देवानले आफु बसिरहेको घर समेत राखी ऋण लिएको, श्रीमतीको नाममा समेत बिभिन्न सहकारी र समुहबाट ऋण निकालेको उक्त ऋण तिर्न नसकेको कारण पैशा कमाउने उद्धेश्यले योजना बनाई तलत अलि खानलाई सम्पर्क माध्यम बनाई बिजय चौधरीबाट २० लाख लिने र उनको हत्या गरी पैशा आर्जन गर्ने उद्धेश्य रहेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मघ ७ गते राती १० बजेतिर भैरहवाबाट बैनापट्टाको लागि आफ्नो मोटरसाईकलमा राखी परासी स्थित आफ्नो घरमा ल्याएको, उक्त कार्यका लागि मंजुर आलम देवानले आफ्नै श्रीमती हदिसुन नेसालाई प्रयोग गरी दुबै जनाको संलग्नतामा बिजय चौधरीलाई सेतो गम्छाले मुखछोपी, गलबन्दीले घाँटी कसी प्लाष्टिकको डोरीले दुबै हात कम्मरको पछाडी बाँधेर हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
हत्यापछि मंजुर आलम देवान र उनको श्रीमतीले चौधरीको लाशलाई मोटरसाईकलमा राखी रामग्राम नगरपालिका ९ जोकवार स्थित सडकको छेउको पुर्व पट्टी सुख्खा नालिमा फालेका थिए । मृतक बिजय चौधरीले लगाएको गरगहना तथा मोवाईल लगायतका वस्तुहरु प्लाष्टिकमा राखी घटनास्थल नजिकैको गहुँबारीमा फालेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
मृतक चौधरीको साथमा भएको रुपैया मंजुर आलम देवानले आफ्नो दिदि रामग्राम नगरपालिका २ बस्ने बर्ष ४२ की शारदा देवी केवटलाई राख्न दिएको र उक्त झोला शारदा देवी केवटको श्रीमान वसन्त कुमार सहानीले परासी स्थित कुनै एक मोवाईल पसलमा राख्न दिएको अनुसन्धानबाट खुल्न आएको छ । उक्त मोवाईल पसलबाट १५ लाख ३३ हजार ५ सय रुपैयाँ सहितको झोला बरामद भएको र बसन्त सहानीको घरबाट रु. २ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।