चितवन,माघ २७ । नक्कली पिसिआर रिर्पोट गराएको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरको चौविसकोठीमा अवस्थित देव हस्पिटलमा कार्यरत एक जना र अर्का एक रत्ननगरका व्यक्तिलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार देव हस्पिटल प्रालिका हेथ्ल असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका ६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो । उनीहरुले चितवनमा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको अभियोगमा पक्राउ गरिएको हो ।
उनिहरुले देव अस्पतालमा विरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । पक्राउ परेका न्यौपाने यसअघि भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको र त्यहाँ गरेको कामको अनुभवका आधारमा नक्कली पिसिआर रिपोर्ट बनाउने काममा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनिहरुलाई २५ गते जिल्ला प्रशासन कार्यालय चितवनको कम्पाउण्ड क्षेत्रबाट पक्राउ गरिएको हो । चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।



