चितवन । भरतपुर महानगरपालिकाले ७४ विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । शैक्षिक प्रशासन महाशाखा मार्फत ४ लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको हो । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सम्वन्धीत विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।
१ करोड १९ लाख ७४ हजार लागत अनुमानमा विद्युतीय बोल पत्र आह्वान गर्दा घटि घटाउमा ९२ लाख ६३ हजार ३ सय ९९ रुपैयामा बोलपत्र सम्झौता भएर पहिलो चरणमा १ लाख ८० हजार प्याकेट महानगरमा उपलब्ध भएपछि वितरण सुरु गरेको हो । पहिलो चरणमा आएको १ लाख ८० हजार प्याकेट लंकु स्रोत केन्द्र अन्तर्गतका ६ कक्षा माथी सन्चालन भएका १८ बिद्यालयलाई प्रति छात्रा १५ प्याकेटका दरले वितरण गरिएको हो ।
प्याड हस्तान्तरण गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले यसको प्रयोग संगै फोहोरको ब्यवस्थापनमा ख्याल गर्न बिद्यार्थीलाई आग्रह गर्नुभएको थियो ।
महिनाबारी भएका बेला बिद्यालय जान छात्राहरुलाई असहज हुने भएकोले बिद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सहयोग गरिएको बताइन् । प्याडको सहि प्रयोग र प्रयोग पछिको ब्यवस्थापन उचित तवरबाट गर्न उनको आग्रह थियो ।
भरतपुर माहानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले गत वर्ष ५ लाख मुल्य भन्दा बढिको सामान वितरण गरिएको र अहिले बेलैमा सार्वजनिक टेन्डर आवहान गरेर समयमै सामान खरिद गरी वितरण गर्न सफल भएको बताए । एक छात्राका लागि १ वर्ष पुग्ने गरी प्याड बिद्यालयलाई हस्तान्तरण गरिएको पौडेलको भनाई छ ।
एक प्याकेटमा ८ वटा हुने र प्रति क्षात्रा २ प्याकेट सम्म एक मिहिनामा दिन सकिने पौडेलले बताए । पहिलो चरणमा १८ बिद्यालयलाई वितरण गरिएको र बाँकी बिद्यालयका लागि प्याड आउना साथ वितरण गरिहाल्ने शैक्षिक प्रशासन महासखाका जिन्सि शाखा प्रमुख झलक श्रेष्ठले बताए ।



