नवलपुर । नारायणी नदीले वर्खाको समय पुर्याउन सक्ने सम्भावित क्षती हुने स्थानहरुको आज अवलोकन गरिएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रशासनले संयुक्त अवलोकन गरेका हुन् ।
नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँल, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी सहितको टोलीले आज नारायणी नदीको फिल्ड अवलोकन गरी क्षती हुन सक्ने ठाउँमा समयमै सचेत हुने बताएका हुन् ।
नारायणी नदीले वर्खाको समय वर्षेनीजस्तै समस्यामा पार्ने र वस्तीनै डुवानमा पर्ने भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको छ ।
अवलोकन पछि बोल्दै नगरप्रमुख छत्रराज पौडेलले चितवनतर्फ धेरै ठाउँमा तटवन्ध भएको र गैँडाकोटको ७ र ९ नम्वर वडातर्फ बढी क्षती हुन सक्ने भन्दै तटवन्धनको काम सुरु गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“संयुक्त अवलोकन भयो । नदी तटीय क्षेत्रका जनताको जीउ धन जोगाउने दायित्व अनुसार अवलोकन गरियो । नदी नियन्त्रणको पाटो कसरी अगाडि बढाउन सकिन्छ भन्ने जानकारी लिएका छौँ । काम अघि बढाउन सम्वन्धीत निकायलाई आह्वान गर्नेछौँ ।”
केही जनताले एकतर्फी तटवन्धनको काम भयो भनेपनि फिल्डमा त्यसो नभएको र आगामी दिनमा गरिने सवै कार्य सहकार्य सहमतिमा गर्नेगरी प्रशासनसँग छलफल भएको मेयर पौडेलले बताउनुभयो ।
अवलोकन टोलीमा रहनुभएका गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले चितवनतर्फ धेरैनै तटवन्ध गरिएको तर गैँडाकोतर्फ कम कार्य भएको बताउनुभयो । प्रदेश संघ तर्फ भनेर गैँडाकोट क्षेत्रमा पनि तटवन्धनको काम अघि बढाउन नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । संयुक्त अवलोकनले वास्तविक स्थितीवारे अवगत भएको र आगामी कार्यक्रम गर्न सहज हुने बताउनुभयो ।
अवलोकन गर्दै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सवै जनताको जिउ धन जोगाउने दायित्व राज्यको भएकाले सोही अनुसार आफूहरुले कदम चाल्ने बताउनुभएको थियो । कुनै एक पक्षलाई जोखिममा राखेर काम गर्नेभन्दापनि दुवैतर्फ क्षती हुन नदिनेगरी आगामी कार्यक्रम गर्न प्रतिवद्ध रहेको बताउनुभएको थियो ।
टोलीले गैँडाकोट ७, ९ तर्फको भाग र भरतपुर महानगरपालिकाको वडानम्वर १६ को सानोगढी क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।