गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्साल छलेर ल्याएका सामान बरामद गरेर राजश्व दाखिला गराउन सफल भएको छ । प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार माघ १ गतेदेखि हालसम्म १५ दिनको अवधिमा १३ लाख ८३ हजार ६ सय ३० मुल्य बराबरको राजश्व दाखिला गरिएको छ ।
जिल्ला प्रहरीको मातहतका कार्यालय समेत निगरानी कडा पार्दा भन्सार छलेर ल्याएका सामान बरामद गर्न सफल भएको हो ।
२ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको सामान भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको साडी, सुट लगायतका बिभिन्न कपडा, १५०० के.जी. चिनी, २० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४०० थान मोबाईल कभर लगायत बिभिन्न मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
यसै अवधीमा सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलेरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोकबाट पक्राउ गरी कारबाहीको लागि सयपत्री सामुदायिक वन कार्यालय बर्दघाटमा बुझाईएको र जिल्लाको सरावल गाउँपालिका ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्टलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० के.जी. झ्याउ र २१८० के.जी. सुनाखरी नामक जडिबुटी बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद जडिबुटी जिल्ला वन डिभिजन कार्यालय नवलपरासीमा बुझाईएको डिएसपी शाहीले बताए।



