गैँडाकोट । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको पदमा आज निर्वाचन भइरहेको छ । सात वटै प्रदेशमा विहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउसो ३ बजेसम्म हुनेछ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्रमा भोट खसालिरहेका छन् ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् ।
हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन भइरहेको हो । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुनेछ । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार अहिले मतदानको काम भइरहेको छ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन भइरहेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।
प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । आज नै निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।